काठमाडौँ — पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको नभई समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकारलगायत विषयमा अग्रगामी रहेको बताएका छन् ।
संविधान दिवस–२०७९ को अवसरमा विज्ञप्ती जारी गर्दै उनले लामो सङ्घर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको बताएका छन् । प्रचण्डले भनेका छन्, , ‘यो संविधानका लागि जीवन उत्सर्ग गर्ने महान् शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्गता भएका योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दछु ।
अध्यक्ष प्रचण्डले सिंहदरबारमा रहेको एकात्मक राज्य व्यवस्थाको केन्द्रीकृत शासन प्रणालीलाई नागरिकको घरदैलोमा पु¥याउने श्रेय पनि वर्तमान संविधानलाई जाने उनको भनाइ छ । यसले नागरिकलाई ‘गाउगाउँमा सिंहदरबार’को अनुभूति गराएको प्रचण्डको भनाइ छ ।
अध्यक्ष प्रचण्डले सन्देशमा भनेका छन्, ‘वर्तमान संविधानकै कार्यान्वयनका क्रममा हामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभार प्रदेशसभा सदस्य निर्वाचनको प्रक्रियामा छौँ । संविधान एवं सिङ्गो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि यस निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको छ ।’उनले प्रतिगमन विरोधी अग्रगामी सबै नेपालीलाई गठबन्धनमा रहेका दलहरुलाई विजयी गराई संविधान रक्षा एवं सफल कार्यान्वयनका लागि अपिल गरेका छन् ।


प्रतिक्रिया