खेलकुद

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बंगलादेश भिडदै


काठमाडौँ — महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज घरेलु टोली नेपाल र बंगलादेश आमने–सामने हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ बजे सुरु हुनेछ । महिला साफको १२ वर्षे इतिहासमा नेपाल र बंगलादेश पहिलो पटक फाइनल भिड्न लागेका हुन् । यस अघि दुई टोलीबीच समूह चरणमा मात्र प्रतिस्पर्धा हुँदै आएको थियो

पाँच संस्करणसम्म भारतले मात्र लगातार उपाधि जित्दै आएको थियो । नेपाल ४ पटक उपविजेता बन्दा बंगलादेश १ पटक उपविजेता बनेको इतिहास छ । हालसम्म नेपालले बंगलादेशसँग ८ खेलमा प्रतिस्पर्धा गरेको छ। जसमा नेपालले ६ जित र दुई बराबरी खेलेको छ। महिला साफमा भने नेपालले ३ खेलमा तीनै खेल जितेको छ ।

इतिहासले नेपाल बलियो देखिएपनि यस पटक बंगलादेशको टोली उत्कृष्ट लयमा रहेको छ । प्रतियोगिता अन्तर्गत सेमिफाइनलमा नेपालले भारतलाई हराएको थियो। बंगलादेशले भुटान पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।