काठमाडौँ – नेपालमा प्रत्येक दिन २० जनाले आत्महत्या गर्छन् भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ , तर नेपाल प्रहरीको तथ्याङ्क हेर्दा यस्तै देखिएको छ । गत वर्ष नेपालमा ६ हजार ८३० जनाले आत्महत्या गरेका थिए । गत वर्षमा प्रदेश १ मा सबैभन्दा धेरैले आत्महत्या गरेका छन् । प्रदेश १ मा १ हजार ४९१ जनाले आत्महत्या गरेका थिए । दोस्रोमा बागमती प्रदेशमा १ हजार ४४२ जनाले आत्महत्या गरेको तथ्याङ्क छ ।
प्रदेश १ र बागमतीपछि लुम्बिनीमा १ हजार ३०४ जनाले आत्महत्या गर्दा मधेसमा १ हजार २० जनाले आत्महत्या गरेका छन् । गण्डकीमा ६९८, सुदूरपश्चिममा ५८३ र कर्णालीमा २९१ जनाले आत्महत्या गरेका छन् । पछिल्लो एक दशकको तथ्याङ्क विश्लेषण गर्दा नेपालमा आत्महत्याको दर बढेको देखिन्छ । आर्थिक वर्ष २०७७÷०७८ मा ७ हजार १४१ जनाले आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ ।
यता सरकार भने आम नागरिकाको जीवन रक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताउन छाडेको छैन् । आईतवार काठमाडौंमा आयोजित आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले हरेकको जन्म राम्रा कामका लागि हुने भन्दै न्युनिकरण गर्न सरकारले हर सम्भव प्रयास गरेको बताए ।
आत्महत्या बढ्नुको एउटा कारण सामाजिक सञ्जालको गलत प्रयोगसँग समेत कतिपयले जोड्ने गरेका छन् । कतिपय बालबालिका अत्यधिक समय गजेट र सामाजिक सञ्जालमा भुल्न थालेका छन्, सामाजिक सञ्जालमा अपरिचितसँग साथी बन्ने, कतिपय सानै उमेरमा प्रेम–सम्बन्धमा गाँसिने र समस्या आएपछि आत्महत्या गर्न तिर लग्ने देखिन्छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह हरेक हारबाट धेरै अनुभव लिन सकिने भन्दै हारलाई स्वीकारेर अघि बढ्नु नै जीवन रहेको बताउँछन ।
आत्महत्या गर्नेमा पुरुष धेरै पाइएको छ । तथ्यांकअनुसार ५६ प्रतिशत पुरुषले आत्महत्या गरेको पाइएको हो । ३३ प्रतिशत महिला, ७ प्रतिशत किशोरी तथा ४ प्रतिशत किशोरले आत्महत्या गर्ने गरेका छन् ।


प्रतिक्रिया