Breaking

‘चोलेन्द्रलाई जोगाउन एमालेको षड्यन्त्र’


काठमाडौँ – राष्ट्रिय सभाका पूर्व सदस्य तथा वरिष्ठ अधिवक्ता रामरायण बिडारीले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरालाई जोगाउनका लागि नेकपा (एमाले) ले षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । आइतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै वरिष्ठ अधिवक्ता बिडारीले जबरालाई बचाउन एमालेले षड्यन्त्र गरेका बताएका हुन् ।

उनले महाअभियोग सिफारिस समितिले गरेको बहुमतको निर्णय लागू हुने स्पष्ट पारे । उनले भने – ‘समितिमा फरक मत आउनु पनि राम्रो कुरा होइन । नेकपा (एमाले) नाम गरेको पार्टीले चोलेन्द्र जस्तो भ्रष्टाचारीको पक्षलाई जोगाउनको निम्ति आलेटाले कुरा गरेर प्रक्रिया पुगेको छैन, हेर्न बाँकी छ भन्दै जालसाजी र षड्यन्त्रपूर्वक कुरा गरेर हिँड्नु गलत हो । यस्तो गर्नु राम्रो होइन । र बहुमतको निर्णय लागू हुन्छ जहाँ पनि । आफ्नो वर्चस्व केही नचल्ने भएर, चालेन्द्रलाई चोख्याउनको निम्ति एमालेले खेलेको षड्यन्त्र हो ।’ उनले महाअभियोगको प्रक्रिया ढिलो भयो भनेर भ्रष्टाचारीले उन्मुक्ति पाउनु नहुने बताए ।

बिडारीले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्ने पनि बताएका छन् । उनले प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग प्रस्ताव मंसिर ४ गतेको निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्ने बताए ।

उनले संसद् भङ्ग नभएको र अधिवेशन मात्रै अन्त्य भएको स्पष्ट पारे । आवश्यक परेमा संसद्को अधिवेशन बोलाउन सकिने पनि उनको तर्क छ । उनले भने – ‘महाअभियोग राष्ट्रिय सभामा जाँदैन । त्यो प्रतिनिधि सभाले हेर्छ । अब आउने संसद्ले हेर्छ । आवश्यक प¥यो भने अहिले पनि संसद् भङ्ग भएको छैन । विघटन भएको छैन । यो संसद् अहिले पनि अधिवेशन अन्त्य भएको हो । त्यस कारणले यति कुरा पनि नबुझेको जस्तो गरी मान्छेले भुतभुताउँछन् । अधिवेशन आवश्यक भयो भने त एक चौथाइले फेरी बोलाउन सक्छ । १५ दिनभित्र अधिवेशन बस्छ । त्यस कारणले त्यो गर्नु पनि परेन । अब अधिवेशन बस्दैन । अब आउने निर्वाचनबाट नयाँ आएको संसद्ले अब हेर्छ ।’