काठमाडौँ — पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको आरोप लगाएका छन् । काठमाडौंको वसन्तपुरमा ‘युवा सँगसँगै पदयात्रा’ कार्यक्रममा ओलीले अहिले देश अप्ठ्यारो स्थितिबाट आरोलो लागिरहेको बताए । अध्यक्ष ओलीले गठबन्धनले ओरालो गतिमा लगेको देशलाई संविधान कार्यान्वयन र लोकतान्त्रिक अभ्यासद्वारा सशक्त ढंगले अघि बढाउने बताए । उनले यसको फैसला मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनले गर्ने बताए ।
‘फैसलाका लागि संघीय संसदको प्रतिनिधि सभाको निर्वाचन र प्रदेशको, सातै प्रदेशको निर्वाचन भइरहेको छ । यतिबेला देशलाई हार्न दिनु हुँदैन’, उनले भने, ‘जनतालाई, लोकतन्त्र, संविधान, विकासको अभियानलाई हार्न दिनु हुँदैन, एकछिन धक्का खाएको होला, यसलाई चिरेर देशलाई द्रुत गतिले अघि बढाउनुपर्छ । अध्यक्ष ओलीले संविधान दिवसलाई राष्ट्रिय पर्वको रूपमा मनाउनु पर्ने धारणा राखे ।
संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा वृहत् (पदयात्रा) शुरु गरेको हो । पदयात्रा बिहान ७ बजे उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट शुरू भएको थियो । पदयात्रा कार्यक्रममा अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्य, महासचिव शंकर पोखरेल, उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया