Breaking

कैलालीका ४ पालिका डुबानमा


काठमाडौँ – कैलालीका चार पालिकाका अधिकंश बस्ती डुबानमा परेका छन् । कैलालीको पूर्वी क्षेत्रका पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् । टीकापुर, जोशीपुर, भजनी र कैलाली गाँउपालिकाका अधिकांश बस्ती डुबानमा परेका हुन् ।

बिहीबारबाट परेको अविरल वर्षाका कारण ती क्षेत्र डुबानमा परेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । अहिले सो क्षेत्रमा उद्धारका कार्य भइरहेको छ ।

कैलालीको भजनी नगरपालिका– ८ स्थित पथरैया नदीको पानीको सतह बढेर सोनाफाटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका १६० घर डुबानमा परेका छन् । भजनीकै वडा नम्बर–५ स्थित कान्द्रा नदीको बाढीले मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका २५० घर डुबानमा परेका छन् । यस्तै कुटी गाउँ, वडा नम्बर ७ शिविर टोल, गणेशमान टोल र दक्षिणपूर्वी टोलका २५० घर डुबानमा परेका बताइएको छ ।

टीकापुरमा पनि कान्द्र नदी र मोहना नदीले अधिकांश बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ । अहिले वर्षा केही कम भएकाले उद्धार कार्य सुरु गरिएको प्रहरीले जनाएको छ । जोशीपुर पनि मोहना र कान्द्र नदीको डुबानको चपेटामा परेको छ ।

नदीको बहाव बढ्ने क्रम जारी रहेकाले सर्तक रहन आग्रह गरिएको छ ।