Breaking

अछाममा पहिरोमा मृत्यु हुनेको संख्या १४ पुग्यो, ६ जना बेपत्ता


काठमाडौँ – अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ । पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार कमलबजार नगरपालिका, ६ बीरपथमा पहिरोमा पुरिएर चारजनाको ज्यान गएको हो । स्थानीय वासिन्दाका चार घर पुरिँदा उनीहरूको ज्यान गएको हो । पहिरोमा पुरिएर ज्यान गुमाउने मध्येका चारजनाको शव निकालिएको प्रहरीले जानकारी दिएका छन् ।

उक्त पहिरोमा पुरिएर थप तीनजना बेपत्ता छन् भने ७ जनालाई जीवितै उद्धार गरिएको छ । पहिरो पुरिएकामध्ये कमलवजार नगरपालिका –६ स्थित ठाँटीखाँदका इन्द्र कामीको परिवारका आठजनाको शव फेला परेको छ ।

तुर्माखाँद गाउँपालिका, ५ नाडास्थित काडाचौरमा समेत पहिरोमा परी ज्यान गुमाउने मध्येका चारजनाको शव निकालिएको छ । थप पाँचजना पहिरोमै पुरिएका छन् । शनिबार बिहान करिव ४ बजे पहिरो खस्दा तुर्माखादका स्थानीय नेत्रबहादुर शाही र रिटबहादुर शाहीका घर पुरिँदा उनीहरूको ज्यान गएको छ ।

उनीहरूको उद्धारका लागि स्थानीय वासिन्दा सक्रिय भए पनि निरन्तरको वर्षाका कारण कठिनाइ भइरहेको स्थानीयले जानकारी दिए ।