Breaking

बालेन-हर्क जस्तो स्वतन्त्र भेटिएन, जिग्री ब्रो ओलीसँग भिड्दै (भिडियोसहित)

रवीदेखि मुकुन्देसम्म जग हसाउँदै


काठमाडौँ – स्थानीय तहको निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारले उत्साहजनक परिणाम ल्याएपछि संघीय निर्वाचनमा स्वतन्त्रको उभार आएको छ । आज भोलि शहरदेखि गाउँ घरसम्म स्वतन्त्रको लहर चलेकोछ । तर जो पनि स्वतन्त्र बन्ने लहडले थप समस्या निम्त्यिाउने देखिन्छ ।

टिकटकमा बालेनको नक्कल गर्ने देखि टेलिसिरियल कमेडी गर्दैमान्छे हसाउनेसम्म स्वतन्त्र बनेका छन् । बर्षौदेखि दलमै बसेर तर मारेका र वैकल्पिक शक्ति भन्दै पार्टी खोलेर असफल भएकाहरु पनि अहिले स्वतन्त्र बनेका छन् । स्थानीय तहको निर्वाचनमा बालेन्द्र शाह र हर्क साम्पाङको विजयीबाट उत्साहित भएर प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्नेको लहर मात्रै होइन, लहड नै चलेको छ ।

हेर्दा जो पनि स्वतन्त्र छन् । कुनैबेला रत्नपार्कको रुखमा झुण्डिएर बकबक गर्ने देखि स्वतन्त्रकै नाममा दल खोलेका रवी लामिछाने र ‘स्वतन्त्र अभियान’ नै चलाएर स्वतन्त्रताको हरण गरेका समूह पनि स्वतन्त्र नै छन् । स्वतन्त्रभित्र पनि गुट उपगुट बन्न थालेका छन् । असली बाजेको पेडा पसल कुन हो भनेझैँ आगामी निर्वाचनमा असली स्वतन्त्र को हो ? भनेर खोज्नुपर्ने भएको छ ।

बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आएसँगै चुनाव हारेका र दलकै वरिपरि घुमेर ठाउँ नपाएकाहरुको एउटा समूह सानेपामा भेला भएको थियो । ‘स्वतन्त्र उम्मेदवारी अभियान’को नाम दिएर झण्डै दुईदिनसम्म छलफल गरेको यो समूहमा स्वतन्त्रको हिमायती मानिएका बालेन शाह र हर्क साम्पाङ भने उपस्थित भएनन् । तर यो समूहले आलिसान होटलबाट बाहिरिदै गर्दा झण्डै दर्जन बढी मापदण्ड सार्वजनिक ग¥यो । जसमाउम्मेदवार बन्न ६८ बर्ष नपुगेकोदेखि, स्नातक उत्तिर्ण गरेको र ‘स्वतन्त्र उम्मेदवारी अभियान’को विचार नाघ्न नपाउने जस्ता मापदण्ड बनाएर लगाम लगाउने काम गरियो ।

इतिहासलाई फर्केर हेर्दा २०१५ सालमै ४ स्वतन्त्र उम्मेदवारले निर्वाचन जितेका थिए । २०४८ मा पनि ३ जना स्वतन्त्र विजयी भएका थिए । ५१ मा आएर त्यो संख्या ७ पुगेपनि ६४ को निर्वाचनमा दुईमा सीमित बन्यो । ७० को निर्वाचनमा पनि दुई रहेको स्वतन्त्र संख्या ७४ को निर्वाचनमा मात्र एक जनामा कायम रहन पुग्यो । दलहरुको बढ्दो अराजकता र जनतामा विद्रोह जाग्दा पञ्चायतकी नानीमैयादेखि गणतन्त्रका बालेन–हर्कसम्मले उत्साह थपेका छन् । तर जो पनि स्वतन्त्र हुने र स्वतन्त्र भएकाहरु सबै राम्रा हुन्छन् भन्ने मान्यता स्थापित भए त्यसले झन समस्या निम्त्यिाउने छ ।