Breaking

बालेन र व्यापारीको द्वन्द्व कसरी अघि बढ्ला, ? एक्सनमा उत्रिएका बालेनलाई रोक्न सक्लान् व्यापारीले ?


काठमाडौँ — काठमाडौँको सडकमा व्यापार व्यवसाय गर्दै आएका फुटपाथ व्यवसायीहरु महानगरविरुद्ध सडकमा उत्रिएका छन् । गरीबीको मुद्धा उठाएर मेयर बनेका बालेन ठाउँमा पुगेपछि त्यही गरिबलाई भिखारी बनाउन लागिपरेको उनीहरुको आरोप छ । यो चर्काचर्की देशकै सबैभन्दा ठूलो महानगरपालिका र त्यही महानगरभित्र व्यवसाय गर्दै आइरहेका साना व्यापारीको हो । यो दृश्यले महानगरपालिका र फुटपाथ व्यवसायीबीच ठूलै रस्साकस्सी हुने देखिन्छ ।

एका तर्फ काठमाडौँका मेयर बालेन्द्र साह निरन्तर रुपमा फुटपाथलाई बल प्रयोग गरेरै भए पनि व्यवस्थित गर्न लागिपरेका छन् । तर, फुटपाथमा व्यवसाय गर्दै आएका व्यापारीहरु भने एकीकृत भएर महानगर विरुद्ध ठूलै आन्दोलनको आँधीबेरी सिर्जना गर्न तर्फ अग्रसर बनेका छन् ।

दशैको मुखमा साना व्यवसायीहरुको आक्रोश थेगिनसक्नु छ । उनीहरु महानगरको दमन कुनै पनि हालतमा सह्य नहुने बताउँछन् । महानगरको कार्यशैलीको कडा रुपमा निन्दा गरेको व्यापारीहरु आफूहरुलाई चाडबाडको समयमा गाँस, बास र कपास विहीन नबनाउन आग्रह गरिरहेका छन् ।

महानगरको अभियानलाई साना व्यवसायीहरुले स्वागत नै गरेका छन् । तर, उनीहरु आफ्नो रोजीरोटीको सवालमा भने विकल्प खोज्नुपर्ने बताउँछन् । वर्षौ देखि गर्दैै आएको पेशा अहिले महागरले छोड भन्दा अब के गर्ने भन्नेमा उनीहरु अन्योलमा छन् । कि गरिखान दिनुपर्ने कि विकल्प दिनुपर्ने उनीहरुको माग छ ।

मेयर बालेनले आफूहरुलाई अपहेलना गरेको बताउने उनीहरु गरीबलाई झनै भिखारी बनाउन तर्फ महानगर लागेको बताउँछन् । मेयरलाई नै ज्ञापनपत्र बुझाउने अड्डी कसेका व्यापारीहरु मेयर उपस्थिति नभएपछि अन्तत प्रशासकलाई नै पत्र बुझाउन बाध्य भए । तीन दिन अघि नै जानकारी दिए पनि मेयरले आफूहरुसँग भेट्न नखोजेको आरोप व्यापारीले लगाईरहँदा कार्यव्यस्तताका कारण समय मिलाउन नसकेको भन्दै महानगर भने पन्छिएको छ ।

चौतर्फी समर्थन पाइरहेका बालेन यसभन्दा अघि पनि पटक पटक घेरावन्दीमा परिसकेका छन् । महानगरले सोचे जस्तो फुटपाथलाई हटाउन त्यति सहज देखिँदैन । चरणबद्ध रुपमा महानगरविरुद्ध विरोधको आवाज उठ्न सुरु भइसकेको छ । देशैभरबाट वाही वाही पाएका बालेनलार्ई फुटपाथ व्यवसायीहरुको चुनौतीले भने प्रभावित पार्ने देखिन्छ ।