Breaking

अग्निपथमा नेपाली भर्ती नभए यसपालिको कोटा अरूलाई दिइन्छ: भारतीय सेना प्रमुख


काठमाडौँ — अग्निपथमा नेपाली भर्ती नभए यसपालिको कोटा अरूलाई दिइन्छ भारतीय सेना प्रमुखले बताएका छन् । भारतका सेना प्रमुख मनोज पाण्डेले ‘अग्निपथ’ योजनाअनुसार नेपालीहरू भारतीय सेनामा भर्ती नभए यसपालि उनीहरूलाई छुट्ट्याएको कोटा अरूलाई दिने बताएका हुन् । बुधबार युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाको कार्यक्रममा सोधिएको प्रश्नको जवाफमा पाण्डेले नेपालीका लागि छुट्ट्याइएको कोटा अरूलाई बाँडिने बताएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

‘मलाई मंसिर ४ को आमनिर्वाचन अघि नेपालले कुनै निर्णय गर्छजस्तो लाग्दैन,’ केही दिनअघि काठमाडौंमा नेपाली सेनाको मानार्थ महारथीको पदवी लिएका पाण्डेले भने,‘त्यसपछि पनि उनीहरूले निर्णय गरेनन् भने त्यो कोटा अरूलाई दिइन्छ । आफूहरूले चार वर्षे अग्निपथ योजनाका फाइदाबारे नेपाली पक्षलाई बताइसकेको पाण्डेले बताए । अब के गर्ने भन्ने निर्णय नेपालले गर्छ,’ पाण्डेले भने । केही वर्षअघि भारतले वार्षिक ४ हजारको हाराहारीमा नेपाली भर्ती गरिन्थ्यो । पछिल्ला वर्षहरूमा त्यो संख्या घटाएर १५ सयमा पुर्‍याइएको छ । भारतीय सेनामा अहिले ३० हजारको हाराहारीमा नेपालीहरू कार्यरत छन् ।

यसअघि सरकारले भदौ ८ मा सरकारले अग्निपथबारे स्पष्ट पार्न भारतलाई भनेको थियो । परराष्ट्र मन्त्री नारायण खड्काले काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर अग्निपथबारे स्पष्ट नभएकाले तत्काल नेपाली भर्ती नहुने बताएका थिए ।अग्निपथबारे स्पष्टता नभएको भन्दै नेपालले यसपालि भारतीय सेनामा हुने भर्तीको छनोट प्रक्रिया नै रोकेको छ । गत असार पहिलो साता भारतले तीन सैनिक सेवा स्थल, जल र वायुमा नयाँ भर्नाका लागि अग्निपथ नामको नयाँ स्किम ल्याएको थियो । साढे १७ वर्षदेखि २३ वर्षसम्मका युवा अग्निपथ योजनाअनुसार भर्ती हुन पाउँछन् ।

यो योजनाअनुसार भर्ती हुनेहरूले ४ वर्षमात्र सेवा गर्न पाउनेछन् । त्यसपछि थोरैलाई मात्रै पूर्णकालीन सैनिकका रूपमा काम दिइनेछ भने बाँकीलाई घर पठाइनेछ । उनीहरूले पेन्सनको सुविधा पाउने छैनन् । नेपालले आफ्ना युवाहरूलाई पनि त्यही ४ वर्षका लागि भारतीय सेनामा भर्ती गराउन लागेको हो कि पेन्सन पाउने गरी भन्ने स्पष्ट नभएकाले पहिला त्यो स्पष्ट हुनु पर्ने बताएको हो ।