काठमाडौँ – बहराइनमा नेपाली यु-२० टोलीको खराब प्रदर्शनले बुधबार राति पनि निरन्तरता पाएको छ । एएफसी यू–२० एसियन कप छनोटमा नेपाल बहराइनसँग ६-० ले पराजित भएको हो । लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपालको छनोट सम्भावना सकिएको छ ।
बहराइनस्थित शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा सुरुवातबाटै दबाबमा परेको नेपाली युवा टिम पहिलो हाफमा नै १० खेलाडीमा सीमित भएको थियो । नेपाल खेलको २८ औं मिनेटमा अमर श्रेष्ठले बहाराइका खेलाडीलाई फल गरेपछि उनी रातो कार्ड पाएर मैदानबाट बाहिरिएका हुन् ।
बहराइनको जितमा अब्दुल्ला अली अल्सुबाईले दुई गोल गरे । कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले एक एक गोल गरे । पहिलो हाफमा दुई गोल गरेको बहराइनले दोस्रो हाफमा थप चार गोल गर्दै नेपालविरुद्व आधा दर्जन गोल पुर्याएको थियो ।
जितसँगै समूह बी मा बहराइनले पहिलो जित निकाल्दै दुई खेलमा चार अंक बनाएको छ । नेपाल अंकविहीन अवस्थामा पुछारमा छ । अब प्रतियोगिताको अन्तिम खेलमा नेपालले आइतबार बंगलादेशको सामना गर्नेछ ।
प्रतियोगितामा नेपाल पहिलो खेलमा भुटानसँग २-० ले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा कतारसँग ३-१ ले हारेको थियो ।
प्रतिक्रिया