काठमाडौँ — चोलेन्द्रशमशेरविरूद्ध बयान दिन सर्वोच्चका न्यायाधीशहरू संसदीय समितिमा नजाने भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरू संसदको महाभियोग सिफारिस समितिमा बयान दिन नजाने भएको हो । बुधबार बसेको सर्वोच्चको फुलकोर्ट बैठकले न्यायाधीशहरू समितिमा बयान दिन नजाने निर्णय गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आजको बैठकले उक्त निर्णय गरेको हो ।
यसअघि आजै समितिले बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आरोप लगाएका सर्वोच्चका न्यायाधीशहरूलाई पनि बयानमा बोलाउने निर्णय गरेको थियो। उनीहरूलाई समितिले चिठीसमेत काटिसकेको थियो । संसद पुनर्स्थापनाको फैसला गर्ने इजलासमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई थिए ।
समितिमा बयान दिने क्रममा राणाले सर्वोच्चका अन्य न्यायाधीश हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउतलाई पनि नाम नै किटेर आरोप लगाएका थिए । सर्वोच्चका कामु मुख्य रजिष्ट्रार नारायण पन्थीले न्यायाधीशहरू उपस्थित नहुने निर्णय भएको भन्दै संघीय संसद सचिवालयलाई सम्बोधन गरेर आजै चिठी पठाइसकेका छन् ।



प्रतिक्रिया