विदेश

थाइल्यान्डमा सैनिकद्वारा आफ्नै दुई साथीको गोली हानि हत्या


काठमाडौँ — थाइल्यान्डमा सैनिकले गोली चलाएर आफ्ना दुई जना साथीको हत्या गरेका छन् । बुधबार बैंककस्थित रोयल थाइ आर्मी वार कलेजका ५९ वर्षीय सार्जेन्ट मेजर योङयुथ मुङकोर्नकिमले आफ्ना तीन सहकर्मी साथीमाथि गोली चलाएका हुन् । गोली लागेर दुई जनाको मृत्यु भएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। एक जना सैनिक घाइते छन् ।

घटना स्थानीय समयअनुसार बुधबार बिहान ८स्४५ मा भएको हो । घटनापछि योङयुथ फरार भएका थिए। करिब १० बजे भने उनले आत्मसमर्पण गरेको सेनाले जनाएको छ । ‘मृतक परिवारप्रति समवेदना प्रकट गर्दछौं। यस घटनाले दुबै परिवार र संगठनलाई ठूलो क्षति पुर्‍याएको छ। यस्तो घटना अपेक्षित थिएन,’ सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । थाइल्यान्डमा सामूहिक गोलीबारीका घटना विरलै हुन्छन्। यद्यपि गत वर्षमा मात्रै दुई वटा घटना भएका छन् ।