समाचार

मिनी ट्रकको ठक्करले १ जनाको मृत्यु, एक घाइते


काठमाडौँ — बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा गए राति मिनी ट्रकले ठक्कर दिँदा एकजनाको निधन भएको छ । गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारका लागि काठमाडौं लगिएको छ ।

गएराति महादेवफाँटस्थित सडक छेउमा रोकिएको बा २० च ९४४२ नंको कारबाट ओर्लिन लागेका दुईजनालाई मिनी ट्रकले ठक्कर दिएको हो । ठक्करबाट बेलकोटगढी-७ का ५५ वर्षीय वीरेन्द्र कुँवरको घटनास्थलमै निधन भएको र सोही स्थानका ४८ वर्षीय राजेन्द्र राई गम्भीर घाइते भएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।

मिनीट्रक चालकको लापरबाहीबाट दुर्घटना भएको भन्दै पीडित परिवारसहित स्थानीयवासीले शव उठाउन अस्वीकार गरेका छन् । उनीहरूले घटनास्थलमा राति सुरु गरेको विरोध प्रदर्शन अहिलेसम्म चलिरहेको छ ।

ठक्कर दिने बा ३ ख १६४ नम्बरको मिनीट्रक घटनापछि भाग्ने क्रममा स्थानीयवासीले बेलकोटगढी–५ केउरिनी भन्ने स्थानबाट नियन्त्रणमा लिएर आगो लगाइदिएका छन् । चालकलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख पण्डितले जानकारी दिए ।

दुर्घटनापछि फरार भएको मिनी ट्रकलाई रोक्न बेवास्ता गरेको जनाउँदै स्थानीयवासीले प्रहरी चौकी तारुकाको देवीघाट–गल्छी सडकखण्डमा रहेको प्रहरी युनिटमा समेत क्षति पुर्‍याउने प्रयास गरेका थिए । घटनापछि गल्छी–रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गको देवीघाट–गल्छी सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ ।