काठमाडौँ – नेपाली युवा टोलीले श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिपमा उपाधिका लागि चीरप्रतिद्वन्द्वी भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
पहिलो पटक १७ वर्ष उमेर समूहमा खेलाइएको प्रतियोगिताको समूह चरणमा पनि नेपाल र भारत आमने सामने भएका थिए । समूह ‘बी’को अन्तिम खेलमा नेपालले भारतलाई ३–१ ले हराउँदै समूह विजेता बनेको थियो ।
आज नेपाल त्यही लयलाई दोहर्याएर उपाधि जित्ने लक्ष्यमा छ । भारत भने समूह चरणमा हारेको बदला लिँदै उपाधि उचाल्न चाहन्छ ।
भारत नेपालमाथि दबाब कायम राख्न चाहन्छ । नेपालले फाइनलमा हारको शृंखलालाई पूर्णविराम लगाउन चाहन्छन् । नेपालले भारतविरुद्ध कोलम्बोको रेस कोर्स मैदानमा राति ८ः१५ बजे खेल्नेछ । प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । भारत भने समूह चरणमा नेपालसँग पराजित भएको थियो ।
सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ ले हराएको थियो । दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएर भारतसँगको भिडन्त पक्का गरेको हो । नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतविरुद्धको खेल नेपालका लागि सहज नहुने बताएका छन् ।
प्रतिक्रिया