Breaking

जबरालाई पूरक प्रश्न सोध्नेबारे निर्णय लिन सिफारिस समिति बैठक बस्दै


काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन महाभियोग सिफारिस समितिको बैठक बोलाइएको छ ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिने क्रम सकिएपछि पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन आज पुनः बैठक बोलाइएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिएका छन् ।

जबरालाई सोध्न समितिले ४३ वटा प्रश्नावली तयार गरेको थियो । मंगलबारको बैठकमा प्रश्न नम्बर ३६ देखि ४३ नम्बरसम्मको प्रश्नको जवाफ लिने काम भएको समितिको जनाएको छ ।

प्रवक्ता गौतमका अनुसार निलम्बित प्रधानन्यायाधीश जबराले बयानको क्रममा आरोप लगाएका व्यक्तिहरूलाई पनि आवश्यक्ता अनुसार बयान लिने समितिको योजना छ ।

यसैबीच, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले भने महाभियोग सिफारिस समितिका सबै बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउन समितिसँग माग गरेको छ ।

यसअघिका बैठकका निर्णयहरू गलत ढंगले आम सञ्चार माध्याममा प्रसारण भएकाले त्यसो हुन नदिन अबका सबै बैठकहरू प्रत्यक्ष प्रसारण हुने व्यवस्था मिलाउन आफूहरूले माग गरेको एमालेका उपाध्यक्ष एवम् समितिका सदस्य विष्णु पौडेलले जानकारी दिए ।