काठमाडौँ — चर्चित खेलाडीहरुले आफ्नो स्टरडमलाई व्यवस्थापन गर्न नसक्दासमय–समयमा विवादमा मुछिने गरेका छन् । उचाईमा पुगिसकेका खेलाडीहरुले अनुशासनको वास्ता नगर्दा उनीहरुको खेल जीवन नै समाप्त हुने गरेको छ । नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछाने यति वेला सर्वाधिक चर्चामा छन् । हुन त नेपाली क्रिकेटमा पाइला टेकेदेखि नै लामिछाने निरन्तर चर्चामा नै थिए । तर, यसपटकको चर्चा भने विगतका दिनमा हुने चर्चा भन्दा बेग्लै र अनपेक्षाकृत छ ।
आफ्नो खेल कौशलले देश र देशवासीको शिर उच्च पारेका लामिछाने बलात्कारको आरोपपछि भने आलोचित हुन थालेका छन् । कप्तानलाई लागेको आरोपसँगै खेल क्षेत्रमा फेरि पनि अनुशासनका विषय उठेको छ । सामान्यत अनुशासन हरेक व्यक्तिको गहना हो । अझ् राष्ट्रिय खेलाडीका लागि त यसले झन् ठूलो अर्थ राख्छ ।
अन्य खेलाडीलाई अनुशासनमा बसाल्नु पर्ने जिम्मेवारी बोकेका कप्तान आफैले नै अनुशासनको ख्याल नगर्दा नैतिकताको प्रश्न उठ्नु स्वभाविक पनि छ । बन्द प्रशिक्षणमा रहेका खेलाडी जुन ठाउँमा हुनेपर्ने हो त्यो भन्दा बाहिर रहे त्यसलाई खेल क्षेत्रमा ठूलो अपराध मानिन्छ । उनीमाथि लागेको बलात्कारको आरोपको फैसला चाहे जे सुकै आउला तर, अनुशासन ताडेको पुष्टि भए उनी क्यानको अनुशासन कारवाहीमा पर्ने निश्चित छ ।
विश्वस्तरीय खेलाडीहरुले पनि अनुशसानको उल्लघंन गर्दा उनीहरुको भविष्य सकिएको छ । मैदानमा गर्ने प्रदर्शनसँगै मैदान बाहिर गर्ने व्यवहरामा पनि सन्तुलन गर्न खेलाडीहरु सक्षम हुन पर्छ । त्यसो त खेलाडी हुन थुप्रै गुणको आवश्यक पर्छ । तर मुख्य विशेषता भनेको अनुशासन नै हो ।
यसअघि पनि नेपाली खेलाडीहरु अनुशासनको कारवाहीमा परेका थुप्रै उदाहरणहरु छन् । नेपालमा लोकप्रिय बनेका खेलहरुकै खेलाडीहरु तुलनात्मक रुपमा बढी कारवाहीमा परेका छन् । दुई महिनाअघि मात्रै फुटबलका १० जना खेलाडीहरु अनुशासनको कारवाहीमा परे ।त्यसभन्दा अघि पनि क्रिकेटका ४ जना खेलाडी कारवाहीको भागिदार बने । स्टार खेलाडी बिमल घर्ती मगरसहित ४ जना एन्फाको कारवाहीमा परेको पनि सबैलाई विदितै छ ।
खेलाडीले मैदानमा मात्रै अनुशासनमा बसेर हुँदैन । आज सामाजिक अनुशासन तोड्दा कयौँ हस्तीहरुको खेल जिवन नै समाप्त भएको छ । नेपालकै कुरा गर्दा पनि फुटबलका तत्कालिन कप्तान सागर थापासहित ५ जना खेलाडीलाई भष्टाचारको आरोप लागेपछि खेल जिवनबाटै हात धुनु पर्याे । तसर्थ खेलाडीहरु अनुशासनमा बस्न अन्यन्त जरुरी छ ।
प्रतिक्रिया