Breaking

निलम्बित प्रधानन्यायाधीश जबराको बयान आज सक्ने समितिको तयारी


काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिले आज बयान सक्ने भएको छ । समितिले जबरालाई बयानका लागि दिउँसो १ बजे बोलाएको छ ।

बैठक भने बिहान ११ बजे बोलाइएको समितिका सभापति रामबहादुर विष्टले जानकारी दिए । सिफारिस समितिले जबरासँग हालसम्म ३५ वटा प्रश्नको जवाफ लिएको छ । जबराविरुद्ध ४३ वटा उजुरी परेका छन्। ती सबै उजुरीको जवाफ समितिले लिइरहेको छ ।

जबराले राजनीतिक भागबण्डा खोजेको भन्दै गत फागुन १ मा सत्ता गठबन्धनका ९८ सांसदले महाभियोग दर्ता गरेका थिए। त्यसपछि उनी निलम्बनमा छन्।

समितिले आज बयान सकेर प्रतिवेदन बुझाउने तयारी गरेको छ । गत फागुन २९ गते सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय सिफारिस समिति गठन गरेका थिए। त्यसको ६ महिनापछि मात्रै समितिले काम थालेको थियो ।

समितिको अहिलेसम्म चारवटा मात्रै बैठक बसेको छ । चारवटा बैठकमा समितिले जबरासँग बयान लिइरहेको छ । बयानका क्रममा उनले राजनीतिक दलका शीर्ष नेता र आफ्नै सहकर्मीलाई आरोप लगाएका छन् । त्यस्तै उनले आफूविरुद्धको महाभियोगको औचित्य नै नभएको बताउँदै आएका छन् ।

संसदको आयु अब तीन दिन मात्र बाँकी हुँदा महाभियोग के हुने भन्ने अझै अन्योल छ । महाभियोग के हुन्छ भन्नेमा कानुन व्यवसायी नै विभाजित छन् । एक पक्षले अब यो स्वतः निस्क्रिय हुने बताउँदा अर्को पक्षले यो अर्को संसदले पनि गर्नेसक्ने दाबी गरेका छन् ।