काठमाडौँ — साफ यू–१७ च्याम्पियन्सिपअन्तर्गत सोमबार भएको सेमिफाइनलमा नेपालले श्रीलंकालाई फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
श्रीलंकाको घरेलु मैदानमा भएको खेलमा नेपाललाई जित दिलाउने क्रममा कप्तान प्रशान्त लक्षमले २१ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । त्यस्तै २३ औं मिनेटमा हरिशराज भट्ट, ३० औं मिनेटमा सुवास बम, ३७ औं मिनेटमा निरोज कार्कीले गोल गरेका थिए ।
पहिलो हाफमा ४–०को अग्रता लिएको नेपालले दोस्रो हाफमा दुई गोल थपेको हो । खेलको ५१ औं मिनेटमा उनेश बुढाथोकी र ९० औं मिनेटमा सिजल राईले गोल गरेका थिए ।
नेपालले अब फाइनलमा भारतसँग खेल्नेछ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई हराएको थियो । नेपालले यसअघि समूह चरणमा नै भारतलाई पराजित गरिसकेको छ । जारी साफमा नेपाल र भारतको दोस्रोपटक भेट हुन लागेको हो ।
प्रतिक्रिया