काठमाडौँ — उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रय शक्ति बढाउन आवश्यक रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा युएनडिपीले गरेको मानव विकास प्रतिवेदन सन् २०२१÷२०२२ को
रिपोर्ट सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रय शक्ति बढाउन देशको अर्थतन्त्र सबल हुनुपर्ने बताउनु भयो । मन्त्री भुसालले कृषि, पर्यटन र उर्जाबाट नै देशको सबल अर्थतन्त्र निर्माण गर्न सकिने भन्दै देश विकासका लागि जलश्रोत लगायतका प्राकृतिक श्रोतको उचित प्रयोग गर्नु आवश्यक रहेको बताउनु भयो ।
उहाँले औद्योगीकरण, यातायात सञ्चालन, सिंचाई, कृषि विकास, खानेपानीको विकासमा विद्युतीय सामग्रीको प्रयोग गरेर उज्यालो भविष्य निर्माण गर्न सक्नुपर्ने बताउनु भयो । मन्त्री भुसालले उर्जाको आन्तरिक खपत बढाउनका साथै खपत नहुने उर्जा निर्यात गरेर भएपनि आर्थिक विकास गर्न जरुरी रहेको पनि बताउनु भयो । उहाँले जलश्रोत र उर्जाको दिगो विकासमार्फत आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै समृद्ध नेपाल निर्माणका लागि सबैले आफ्नो आफ्नो क्षेत्रबाट योगदान दिन आवश्यक रहेको पनि स्पष्ट पार्नुभयो । मन्त्री भुसालले देशमा उत्पादन हुने विद्युत पूर्ण रुपमा नविकरणीय, स्वच्छ उर्जा भएकोले हाल देशको करिव ९५ प्रतिशत जनतामा विद्युत पहुँच पुगेको दाबी गर्नुभयो ।
उहाँले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्नेगरी योजना बनाइ कार्यान्वयन भइरहेको पनि बताउनु भयो । उहाँले सरकारले मासिक २० युनिटसम्म विद्युत खपत गर्ने विपन्न नागरिकलाई निःशुल्क विद्युत सेवा दिने र निःशुल्क मिटर जडान गर्ने व्यवस्था मिलाएको उल्लेख गर्दै विद्युत आधारभुत आवश्यक्ताका साथै उत्पादनको साधन भएको बताउनु भयो । मन्त्री भुसालले भन्नुभयो, गुणस्तरीय जीवनयापनका लागि जनताको क्रय शक्ति बढाउन आवश्यक छ । त्यसका लागि देशको अर्थतन्त्र सबल हुनुपर्छ ।
सबल अर्थतन्त्रको निर्माणका लागि नेपालको प्रमुख आधार भनेको कृषि, पर्यटन र उर्जा हो । देश विकासका लागि जलश्रोत लगायतका प्राकृतिक श्रोतको उचित प्रयोग गर्नु आवश्यक छ । पहिला विद्युत उज्यालोको लागि र अबको विद्युत उज्जवल भविष्यका लागि भन्ने मान्यताका साथ अब हामीले औद्योगीकरण, यातायात सञ्चालन, सिंचाईमार्फत कृषि विकास, लिफ्टमार्फत खानेपानी र सिंचाईका साथै विद्युतीय सामग्रीको प्रयोग गरी उज्यालो भविष्यका लागि उर्जाको प्रयोग गर्नुपर्छ । उर्जाको आन्तरिक खपत बढाउनका साथै खपत नहुने उर्जा निर्यात गरेर भएपनि आर्थिक विकास गर्न जरुरी छ । जलश्रोत र उर्जाको दिगो विकास मार्फत आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै समृद्ध नेपाल निर्माणका लागि सबैले आफ्नो आफ्नो क्षेत्रबाट योगदान दिन आवश्यक छ ।
हाम्रो देशमा उत्पादन हुने विद्युत पूर्ण रुपमा नविकरणीय, स्वच्छ उर्जा हो । हाल देशको करिव ९५ प्रतिशत जनतामा विद्युत पहुँच पुगेको छ । यसअर्थमा हामीले ९५ प्रतिशत जनतामा नविकरणीय उर्जाको पहुँच पुगेको मान्न सकिन्छ । आगामी दुई
वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्नेगरी योजना बनाइ कार्यान्वयन भइरहेको छ । यसबाट जनताले स्वच्छ उर्जाको प्रयोग गर्न पाउनेछन्, जसले गर्दा उर्जामा पेट्रोलियम पदार्थको खपत घट्नेछ भने अर्कोतर्फ ग्रामिण भेगमा प्रयोग हुँदै आएका परम्परागत उर्जालाई स्वच्छ उर्जाले प्रतिस्थापन गरी गुणस्तरीय जीवनयापनका लागि सहयोग पुग्नेछ ।
सरकारले मासिक २० युनिटसम्म विद्युत खपत गर्ने विपन्न नागरिकलाई निःशुल्क विद्युत सेवा दिने र निःशुल्क मिटर जडान गर्ने व्यवस्था मिलाएको छ । विद्युत आधारभुत आवश्यक्ताका साथै उत्पादनको साधन हो भन्ने मान्यताका साथै
महशुल पुनरावलोकन गरी सिंचाईमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशत सहुलियत दिइएको छ । मन्त्री भुसालले यो आर्थिक वर्षको अन्त्यसम्म करिव १६ अर्बको विद्युत व्यापार हुने प्रक्षेपण गरेको बताउनु भयो । उहाँले यस वर्ष आन्तरिक
विद्युतको खपत करिव २० प्रतिशतले बढेको र हाल प्रतिव्यक्ति वार्षिक विद्युत खपत ३५१ युनिट रहेकोमा आगामी दिनमा उल्लेख्य वृद्धि हुने अपेक्षा राखेको बताउनु भयो । नेपाल युएनडिपीको प्रतिवेदनअनुसार १९३ वटा देशमध्ये मानव
विकास वर्गीकरणको १४३ औं स्थानमा छ । नेपाल मध्यम मानव विकासको अवस्थामा रहेको तथ्याङ्कले देखाएको छ ।


प्रतिक्रिया