देश

गृहमन्त्री खाण र कानूनमन्त्री कोइराला प्रचण्डनिवास खुमलटारमा


काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाण र कानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । संसदमा रहेका विभिन्न विधेयकलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न गृहमन्त्री खाण र कानूनमन्त्री कोइराला प्रचण्डनिवास खुमलटार पुग्नुभएको हो । भेटवार्ताका क्रममा मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ ।

प्रतिनिधि सभाको कार्यकाल सकिन केही दिनमात्र बाँकी रहेका बेला संसदमा रहेका विभिन्न विधेयकबारे दुई मन्त्रीले प्रचण्डसँग छलफल गर्नुभएको हो । भेटमा नेपाल सरकारसँग विभिन्न समयमा सहमति र सम्झौता गरेका विभिन्न राजनीतिक पार्टीका माग पूरा गर्ने सन्दर्भमा अहिलेसम्म भएका प्रगतिबारे पनि कुराकानी भएको बताइएको छ ।