खेलकुद

श्रीलंकाले जित्यो एसिया कप


काठमाडौँ — एसिया कप टी(२० क्रिकेट प्रतियोगिताको उपाधि श्रीलंकाले जितेको छ। आइतबार युएईको दुबईमा भएको फाइनल भिडन्तमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका एसिया कप च्याम्पियन बनेको हो । श्रीलंकाले दिएको १७१ रनको लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा १४७ रनमा अलआउट भयो । पाकिस्तान कप्तान बाबर अजाम ५ रनमा र फखर जमान शून्यमा आउट भए । पाकिस्तानले चौथो ओभर चल्दा महत्वपूर्ण दुई विकेट गुमाएको थियो ।

दुवैलाई प्रमोद मदुशनले आउट गरेका थिए । त्यसपछि मोहमद रिजवान र इफ्तिखर अमहदले पाकिस्तानको रन स्कोर उकासे । अहमद ७१ रनको साझेदारी गरेपछि १४औं ओभरमा ३२ रन जोडेर आउट भए । यसपटक पनि प्रमोदले नै श्रीलंकालाई सफलता दिलाए । दुई ओभरपछि रिजवान ५५ रनमा आउट भए। उनले ४९ बलमा ४ चौका र १ छक्का हिर्काए। त्यसपछि पाकिस्तानले लगातार विकेट गुमाउदा श्रीलंका जित नजिक पुगेको थियो ।

पाकिस्तानका मोहमद नवाज ६ रन, आसिफ अली , शादब खान ८ रन, नसिम शाह ४ रन र हरिस रउफ ८ रनमा आउट भए । बलिङमा श्रीलंकाका प्रमोदले ४ विकेट र हर्षरंगाले ३ विकेट लिए । त्यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ६ विकेटको क्षतिमा १७० रन जोड्यो। उसका भानुका राजापाक्षले नटआउट ७१ रन जोडे । उनले ४५ बलमा ६ चौका र ३ चौका हिर्काएका थिए ।

ओपनरद्वय पथुम निशंका ८ रन र कुशल मेन्डिस शून्यमा आउट भएका थिए। जसका कारण पकिस्तानले चौथो ओभरमा दुवै ओपनरलाई आउट गर्न सफल भयो। छैटौं ओभरमा धनुश्का गुणतिलका पनि १ रनमै हरिस रउफको बलमा बोल्ड भए । यसपछि धनंजय डिशिल्भाले २८ रन जोडे भने हर्षरंगाले २१ बलमा ३६ रन जोडे । बलिङमा पाकिस्तानका रउफले तीन विकेट लिन सफल भए ।