काठमाडौँ – पछिल्लो एक दशक नेपाली क्रिकेटका लागि एक प्रकारले स्वर्ण युग नै बन्यो । पारस खड्काको कप्तानीमा नेपाली क्रिकेट जीवनले ठूलै सफलता पाएको थियो । उनले खेलबाटै सन्यास लिए पछि क्रिकेटको कप्तानीमा ज्ञानेन्द्र मल्लसंगै भर्खरको उदाउँदो खेलाडी सन्दीप लामिछाने पुगे । तर जबरजस्ती करणी जस्ता गम्भीर आरोपबाट डामीएपछि नेपाली क्रिकेट धर्मराएको छ ।
पहिल्यै देखि राजनीतिक खिचातानी हुने नेपाल क्रिकेट संघ (क्यान) आजसम्म पनि विवादबाट मुक्त हुन सकेको छैन । कहिले संघका पदाधिकारीबीच मनमुटाव त कहिले आईसीसीको निलम्बन । कहिले खेलाडीसँगको विवाद त कहिले कप्तान छनोटको विषय । खेलभन्दा बढी विवादले चर्चामा आउने क्यान यतिबेला फेरि चर्चाको शिखरमा छ । तर, यसपटक भने विवादित बन्नुको कारण कप्तान बनेका छन् । जसमा नेपाली क्रिकेटको भविष्य पनि जोडिएको छ ।
नेपालमा मात्रै नभई विदेशमा पनि खेल कौशलले राम्रो छवि बनाएका निवर्तमान कप्तान सन्दीप लामिछाने हाल सीपीएल खेल्न वेष्ट इण्डिजमा छन् । नाबालिगलाई बलात्कार गरेको आरोप लागेका उदाउँदा खेलाडी लामिछानेलाई क्यानले यतिबेला निलम्बनमा राखेको छ । उनको निलम्बनले क्यानसहित आईसीसी पनि चिन्तित छ ।
यसभन्दा अघि क्यानले सिनियर खेलाडी ज्ञानेन्द्र मल्ललाई हटाएर कप्तानको जिम्मेवारी लामिछानेलाई सुम्पिएको थियो । कप्तानको हेरफेरसँगै डगमगाएको क्रिकेट लामिछानेको कप्तानीमा लय समात्दै छ । बल्ल केन्या भ्रमणबाट केही लयमा देखिएको नेपाली क्रिकेट कप्तानको निलम्बन पछि फेरि समस्यामा पर्ने डर छ । सन्दीप जस्तो खेलाडीलाई गुमाउनु क्रिकेटका लागि ठूलो क्षती हुने सबैले ठानेको छ । क्रमश क्रिकेट र कप्तान विवादमा तानिरहँदा सुधारिँदै गएको क्रिकेट फेरि खस्कने डर पनि बढेको छ ।
पछिल्ला तीन कप्तानलाई आधार मान्दा कप्तानको बिदाई सुखद् हुन सकेको छैन । त्यसको असर खेलमा पनि देखिन्छ । खड्काले नेतृत्व छोडेपछि डगमगाएको क्रिकेटले खासै ठूलो उपलब्धि हात पारेको छैन । मल्लले लामो समय कप्तानको अनुभव गर्नै पाएनन् । विवादै विवादका बीच कप्तान बनेका लामिछानेले पनि सुरुवात राम्रो गर्न सकेन । जसको परिणाम टी–२० विश्वकप खेल्नबाट नेपाल चुक्न पुग्यो ।
कुनै पनि खेलमा नेतृत्वको भूमिका महत्वपूर्ण हुन्छ । एउटै खेलका लागि छोटो समयमा नै फरक फरक नेतृत्व आउँदा त्यसको नतीजा प्राय नकारात्मक नै बन्ने गरेको छ । नेपाली क्रिकेट पनि यस्तै पथमा गुज्रिने अवस्थामा छ । क्रिकेटले एकपछि अर्काे विवाद खेपिरहँदा लामिछानेमाथिको यो मुद्धा कति समयसम्म लम्बिने हो थाहा छैन । केन्या भ्रमणबाट केही आश देखाएको क्रिकेटबाट पुन दर्शक निराश बन्न चाहदैँन । क्रिकेटमा देखिएको समस्याको अविलम्ब समाधान निक्लिन जरुरी छ । कप्तानको यो मुद्धाले नेपाली क्रिकेट छायाँमा नपरोस् ।
प्रतिक्रिया