काठमाडौँ — नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई वर्ष पनि दल टिकाउन नसक्नेहरुले देशको विकास गर्ने कुरा सम्भव नरहेको बताएका छन् ।
आज बानेश्वरमा कुमाले धारा मर्मतसम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले रवीन्द्र मिश्रप्रति इंगित गर्दै दुई वर्षसम्म पार्टी टिकाउन नसक्नेले देश विकास गर्न नसक्ने बताए ।
नेता सिंहले पार्टी खोल्नु नाङ्लोमा पसल खोलेर चलाउनु जस्तो नभएको भन्दै मिश्रप्रति पार्टी टिकाएर देखाउन चुनौती दिए । उनले आफ्नो निर्वाचन क्षेत्रमा नयाँ पार्टीको हावा चाँडै फैलिने गरेको उल्लेख गर्दै विचार गरेर मात्रै भोट हाल्न मतदाताहरूसँग आग्रह गरे ।
वि.सं. २०७४ को निर्वाचनमा तत्कालीन विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग ८१९ मतान्तरले मात्रै सिंह विजयी बनेका थिए । सिंहले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पनि हल्लाको पछि लाग्ने नभइ विवेकले देश विकास गर्न सक्षम उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।


प्रतिक्रिया