Breaking

दार्चुलामा बाढीले घर बगाउँदा एकै परिवारका ४ बेपत्ता


काठमाडौँ — अविरल वर्षासँगै लास्कु खोला र महाकाली नदीमा आएको बाढीका कारण दार्चुला सदरमुकाम खलंगाको बंगाबगडमा एकै परिवारका चारजना सम्पर्क विहीन भएका छन् ।

दुई नदीमा आएको बाढीले बंगाबगड क्षेत्रका ११ वटा घर पूर्णरूपमा बगाएको दार्चुला प्रहरीले जनाएको छ । बाढीले टिंकर सडकमा पर्ने लास्कुखोला माथिको झोलंगे र मोटर पुल बगाएको छ । बाढीका कारण कटान बढ्दै गएको प्रहरीले जनाएको छ ।

मानिसहरू सबै रातिदेखि नै घरबाहिर निस्किएका छन् । रोकेर राखिएका केही यातायातका साधनसमेत बगाएको बताइएको छ । प्रहरीका अनुसार राति २ बजेदेखि नै उद्धार भइरहेको छ ।

घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । क्षतिकोविवरण पनि संकलन भइरहेको प्रहरीले जनाएको छ । नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्क रहन स्थानीयवासीलाई प्रहरीले आग्रह गरेको छ ।