समाचार

जुम्लामा स्याउ महोत्सव हुँदै


काठमाडौँ – जुम्लामा तेस्रो जुम्ला स्याउ महोत्सव हुने भएको छ । स्याउको बजारीकरणका लागि यही भदौ २७ र २८ गते तेस्रो जुम्ला स्याउ महोत्सव आयोजना हुन लागेको हो ।

महोत्सवले उत्पादनको बजार विस्तारका साथै पर्यटन प्रवर्धन हुने विश्वाससहित महोत्सव आयोजना गर्न लागेको आयोजक कान्जिरोवा टाइम्सका प्रबन्धक निर्देशक महेन्द्र कार्कीले बताए । महोत्सवले जुम्लामा उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन सहयोग पुग्ने उनले बताए ।

दुइ दिने महोत्सवमा विभिन्न प्रजातिका स्याउका साथै स्याउका परिकार राखिने जानकारी दिइएको छ । महोत्सवमा जुम्लामा उत्पादन हुने रेड र गोल्डेन डेलिसियस जातका स्याउका पनि परिकार विशेष आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ ।

महोत्सवमा स्थानीय संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम पनि देखाइने भएको छ । यसअघि २०७५ मा पहिलो र ०७६ मा दोस्रो स्याउ महोत्सव भएको थियो। कोरोनाका कारण दुई वर्ष रोकिएको महोत्सव यो वर्ष हुन लागेको हो ।

यस वर्ष जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान छ । भने स्याउ निर्यातबाट झण्डै ५० करोड जुम्लामा भित्रिने आंकलन गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।