Breaking

महारानी एलिजावेथको निधनमा पूर्वराजा ज्ञानेन्द्र शाहको दु:ख व्यक्त


काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायती महारानी एलिजावेथको निधनमा दु:ख व्यक्त गरेका छन् । शुक्रबार एक शोक वक्तव्य जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले महारानी एलिजावेथको नेपालप्रति अगाध आत्मियता रहेको उल्लेख गरेका छन् । संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयको निधनको खबर सुनेर हामीलाई दुःख लागेको छ। स्वर्गीय महारानी राजगद्दीमा ७ दशक अवधि विराज भएर उहाँले शालीन र उच्च राजकीय मूल्य निर्वाह गरिबक्सेको कुरा सदा स्मरणीय छ ।

साथै, नेपालप्रति उहाँको अगाध आत्मीयता पनि सदा उल्लेख्य छ,’ पूर्वराजा शाहले भनेका छन्,‘नेपाल र संयुक्त अधिराज्यबीच दुई शताब्दिभन्दा बढी समयदेखि स्थापित भएको दौत्य सम्बन्धको स्मरण गर्दै विभिन्न भ्रमणका अवसरमा स्वर्गीय महारानीसँगको भेट वार्तालाई गहनतम् प्राथमिकता दिएका छौं । उनले एलिजावेथप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनताप्रति समवेदना प्रकट गरेका छन् ।

एलिजावेथको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि महारानी एलिजावेथको निधनमा दुस्ख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री देउवाले लेखेका छन् अनुग्रह, सरलता र अन्य संस्कृति र मानवताप्रतिको सम्मानका कारण नेपालीहरू महारानी एलिजावेथला सधैँ सम्झिरहने छन् ।

गद्दी सम्हालेपछि एलिजावेथ पहिलो पटक सन् १९६१ विस २०१७ मा तत्कालीन राजा महेन्द्रको निमन्त्रणामा नेपाल आएकी थिइन् । त्यतिबेला नेपाल र बेलायतका राजपरिवारबीच भ्रमणको आदान-प्रदान हुन्थ्यो । अर्को पटक एलिजावेथले २०४२ फागुनमा नेपालको राजकीय भ्रमण गरेकी थिइन् । त्यतिबेला राजा वीरेन्द्रले उनलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

आफ्नो शासनकाल एलिजावेथले सबै कमनवेल्थ देशहरूको भ्रमण गरेकी थिइन् । विभिन्न देशमा उनको लोकप्रियता बढ्दो थियो । नेपाल कहिले पनि उपनिवेश नभए पनि गोर्खा भर्तीका कारण नेपाल र बेलायतको सम्बन्ध गहिरो थियो । बेलायत र नेपालको त्यही विशेष सम्बन्धका कारण महारानी एलिजावेथ दुई पटक नेपाल आएकी हुन् ।