Breaking

वैवाहिक अंगीकृतमा प्रचण्डको बोली किन फेरियो ? : शंकर पोखरेल


काठमाडौँ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैवाहिक अंगीकृत नागरिकताका विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दृष्टिकोण बदल्नु रहस्यमय भएको बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै महासचिव पोखरेलले तत्कालिन नेकपा विभाजन नहुँदा प्रचण्ड पनि वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षे प्रावधानको पक्षमा रहेको बताए ।

‘प्रचण्ड स्वयं आफैंले नेकपाको समयमा के भन्नुभएको थियो भन्ने तपाईंहरुले सम्झिदिनुभयो भने उहाँले दृष्टिकोण किन बदल्नुभयो भन्ने कुराको रहस्य जनताका बीचमा आइदियो भने बडो राम्रो हुन्थ्यो’ पोखरेलले भने । उनले अघि भने, उहाँले नेकपाको समयमा वैवाहिक अंगीकृतका हकमा भारतमा जे प्रोभिजन छ नेपालमा त्यही राख्नु उचित हुन्छ भनेर निर्देशन दिनुभयो, राज्य व्यवस्था समितिका सदस्यहरुलाई बोलाएर । आज यो दृष्टिकोणबाट उहाँ बाहिर किन जानुभयो यसको जवाफ उहाँ स्वयंले दिनुपर्ने हो ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर राष्ट्रपतिसमक्ष पेश भएको नागरिकता विधेयकमा वैवाहिक अंगीकृत नागरिकता लिनका लागि समय तोकिएको छैन । नेकपा एमालेले नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिनु उचित हुने धारणा राख्दै आएको छ । र नागरिकता विधेयक अहिलेकै अवस्थामा पारित गर्नु उचित नहुने बताउँदै आएको छ । प्रचण्डले शुक्रबारमात्र एक कार्य क्रममा राष्ट्रपतिले नागरिकता विधेयक स्वीकृत नगरे राजीनामा दिनुपर्ने धारणा राखेका थिए । एमाले महासचिव पोखरेलले प्रचण्डले राष्ट्रपतिमाथि प्रश्न उठाउनु उचित नभएको बताए ।