Breaking

खिजीदेम्बामा वडाबाटै भत्ता वितरण, अध्यक्ष शेर्पा भन्छन : नमूना गाउँपालिका बनाउछौँ


काठमाडौँ—ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ ।

अशक्त तथा असहाय व्यक्तिलाई पालिका केन्द्र र बैंक सम्म पुगेर भत्ता लिन कठिन हुने भएपछि सहजताका लागि गाउँपालिकाले आफ्ना नागरिकलाई वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो ।


दुर्गम ग्रामीण भेगका नागरिकको सेवालाई सहज बनाउने उद्देश्यले पालिका केन्द्रमा रहेको मेघा बैंक र सुरक्षा निकायसँगको सहकार्यमा वडाबाटै भत्ता वितरण गरिएको अध्यक्ष शेर्पाले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार वडाबाट जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दलित, बालबालिका तथा एकल महिलालाई भत्ता वितरण गरिएको छ ।

वडातहबाटै सामाजिक सुरक्षा भत्ता वितरण हुन थालेपछि सो क्षेत्रका नागरिक खुसी भएका छन् । सरकारले बैंकिङ प्रणाली मार्फत भुक्तानी गर्नु पर्ने नीति ल्याएपछि खाता खोलेर रकम जम्मा गरिँदै आएको थियो । आफ्नै खातामा भएको पैसा झिक्न समेत जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई समस्या भएपछि वडामै भत्तादिने गरी समन्वय गरिएको उहाँले बताउनुभयो ।

वृद्धभत्ता बुझ्न गाउँपालिका नै पुग्नुपर्ने बाध्यताले सेवाभन्दा बढी सास्ती भएपछि जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई सहजताको लागि वडामै भत्तादिने निर्णय गरिएको अध्यक्ष शेर्पाले बताउनुभयो ।

वडाबाटै सहज सेवा पाउँदा समय, खर्च, कष्टकर यात्राबाट छुटकारा मिलेको सेवाग्राहीहरू बताउँछन् । उनीहरूले खुसी हुँदै भने,‘ गाउँपालिकाले भत्ता वडाबाटै दिँदा धेरै सजिलो भएको छ । घण्टौं लगाएर पालिका केन्द्र जानुपर्ने बाध्यता हटेको छ ।’