Breaking

३२ सिट नपाए गठबन्धन गर्दैन: उपेन्द्र यादव


काठमाडौँ — जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताएका छन् । मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस विश्वविद्यालयको वीरगञ्जमा कार्यालय उद्घाटन गर्दै सबैको भावनालाई सम्मान गर्दै न्यायोचित सिट बाँडफाँट नभए दलहरुबीच गठबन्धनको कुनै औचित्य नरहने बताएका हुन् ।

उनले आफूहरूले प्रतिनिधिसभाका लागि ३२ सिट कांग्रेस नेतृत्वसँग माग गरेको र सोही विषयमा दलका शीर्ष नेताहरूबीच छलफल चलिरहेको समेत जानकारी दिए । सिट बाँडफाँटको विषयमा सहमति नभएका विषयलाई चाँडै नै शीर्ष नेतृत्वले किनारा लगाएर आसन्न निर्वाचनको तयारीमा जुट्ने बताए।

सिट बाँडफाँटको विषय चाँडै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरे । अपमानजनक सिट बाँडफाँटमा आफ्नो पार्टी सहभागी नहुने उनको भनाइ थियो। आफ्नो पार्टीको दाबी प्रत्यक्ष संघीय सिटमा ३२ रहेको र त्यसभन्दा घटेर गठबन्धनमा बाँडफाँट गर्न नसकिने पनि उनले प्रष्ट पारे । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ सिट छन् । तर, दलहरूले गरेको दाबीअनुसार सबैलाई भाग पुर्‍याउन सक्ने अवस्था छैन । नेपाली कांग्रेसले १००, माओवादी केन्द्रले ६०, नेकपा एकीकत समाजवादीले ४० र राष्ट्रिय जनमोर्चाले ३ सिट दाबी गर्दै आएका छन् ।