Breaking

सन्दीपको विषयमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको चासो


काठमाडौँ — राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नाबालिगमाथि करणी गरेको आरोप लागेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले चासो देखाएको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लका अनुसार आइसिसीका उच्च अधिकारीले घटनामा चासो दिएका छन् । आइसिसीका उच्च अधिकारीले मलाई यसविषयमा बारम्बार सोधेका छन्। मैले घटनाको बारेमा ब्रिफिङ गरेको छु, मल्लले भने, आइसिसीले यो केसमा के हुन सक्छ भनेर चासो राखेको छ।

मैले नाबालिग केस भएको र नेपालको कानुनले बलात्कार भन्छ भनेपछि उनीहरू पनि सिरियस भएका छन् । यसअघि सन्दीपसँग क्यानले सम्पर्क गरेको थियो। जसमा सन्दीपले कानुनी उपचारका लागि क्यानबाट सहयोगको अपेक्षा गरेका छन् । हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् । केन्याविरुद्धको टी-२० सिरिजपछि सन्दीप उतैबाट वेस्ट इन्डिज पुगेका थिए । क्यानलाई सन्दीपले लिग सकिएपछि नेपाल फर्कने बताएका छन् । साथै उनले कानुनी उपचारका लागि क्यानसँग सहयोग मागेको पनि मल्लले बताए । सिपिएल आगामी अक्टोबर १ सम्म हुँदैछ।

सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ । यसअघि क्यानले कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिग करणी आरोपमा तत्काल केही छानबिन नगर्ने बताइसकेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बुधबार बताएका थिए । सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन, यो सुनियोजित पनि त हुन सक्छ, यदि सन्दीपले अनुशासन नै तोडेको हो भने त कानुनी कारबाही हुनुपर्छ’, क्यान अध्यक्ष चन्दको भनाइ छ ।

उनले कानुनी रूपमा पुष्टि नभइञ्जेल सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने बताए । महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरूचौर स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यहीँ भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ ।