राजनीति

महानगरभित्र नक्सा पास नगरी बनाइएका घर, भवनलाई नक्सा पास गर्न ९० दिनको समय


काठमाडौँ – काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा पास ९० दिनभित्र गरिसक्न आग्रह गरेको छ ।

महानगरको शहरी व्यवस्थापन विभागले आज सार्वजनिक सूचना निकालेर सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास गर्न भनिएको छ । नक्सा पास नगरी बनेका यस्ता संरचना ९० दिनभित्र नक्सा पास नगरे महानगरले कारबाही प्रक्रिया अघि बढाउने पनि चेतावनी दिएको छ ।

‘मापदण्ड अनुकूल रहेका भवन वा घरको नक्सा ९० दिनभित्र पास गर्न अनुरोध गरिन्छ,’ सूचनामा उल्लेख छ । ९० दिनभित्र नक्सा पास नगरे स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता र कार्यविधि तथा कार्यालयको निर्णयअनुसार कारबाही गरिने महानगरले जनाएको छ ।

यस्तै महानगरले घरको सीमा पर्खालको नक्सा पास गर्न पनि भनेको छ । नक्साविनै बनाइएका सीमा पर्खाल ९कम्पाउन्ड वाल० ३५ दिनभित्र भत्काउन पनि महानगरले आग्रह गरेको छ ।

घरधनीले सीमा पर्खाल नभत्काए महानगरले भत्काइदिने पनि चेतावनी दिएको छ । जुनसुकै प्रकृतिको घरजग्गा घेर्न निर्माण गरिने सीमा पर्खालको नक्सा पेश गरी प्रचलित कानूनअनुसार नक्सा पास भएपछि मात्र त्यस्तो सीमा पर्खाल लगाउन महानगरले आग्रह गरेको छ ।