समाचार

कोहलपुरका १०१ जनालाई जग्गाधनी पुर्जा


काठमाडौँ — कोहलपुर नगरपालिकाले जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको छ । कोहलपुर नगरपालिका–४ मा रहेको गोहवा र बेलनपुरमा गाउँ ब्लकका १०१ जनालाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको थियो ।

जग्गाधनी लालपुर्जा वितरण कार्यक्रममा नगर प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरमा जग्गा वितरणको काम सुरु भइसकेको र केही महिनामा सबै वडामा जग्गा धनी लालपुर्जा वितरण गरिने बताए ।

“हाल अन्य ठाउँमा नापी कार्यालयबाट जग्गा नाप्ने काम तीव्र गतिमा भइरहेको छ,” उनले भने, “अबको केही महिनामा सबै वडामा जग्गा धनी लालपुर्जा वितरण हुन्छ ।” संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको नगर प्रमुख आचार्यको भनाइ थियो ।

यसै क्रममा कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीले कोहलपुरका–३ वडामा गाउँ ब्लकका जग्गा धनी लालपुर्जा वितरण गरिसकेको बताइन् ।

“विगत लामो समयदेखि जग्गा उपभोग त गर्नुभयो । तर स्थायी लालपुर्जा पाउन नसक्दा निकै पीडा भोग्नुप¥र्यो,” उनले भनिन्, “उपभोग गरिरहेको जग्गाको जग्गाधनी लालपुर्जा तपाईंहरुकै हातमा हुन्छ ।”

नापी कार्यालय बाँकेका प्रमुख सहदेव सुवेदीले गाउँ ब्लकमा उपभोग गरी बसिरहेका जग्गाधनी लालपुर्जा लिनका लागि कार्यालयमा निवदेन दिइसकेपछि छानबिन गरी जग्गा धनी लालपुर्जा उपलब्ध गराउने बताए ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संंगीता सुवेदी र वडा नं चारका वडाध्यक्ष मुबारक अलि गुजरले संयुक्तरुपमा एक सय एक जनालाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको थियो ।