काठमाडौँ — नेवार समुदायको आस्था र रहनसहनमाथि आघात पुर्याएको आरोपमा पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई थुनामा राख्ने म्याद थपका लागि प्रहरीले प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेश मैनालीले सिंहले उनीमाथिको अनुसन्धान नसकिएका कारण म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउन लागेको बताए ।
यसअघि प्रशासनले उनलाई १० दिन थुनामा राख्न अनुमति दिएको थियो । त्यो १० दिनको म्याद सकिएकाले म्याद थप्न लागेको उनले बताए । कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकको सामग्रीमा अभियन्ताहरुले आपत्ति जनाएका थिए । नेवार समुदायको आक्रोश बढ्न थालेपछि क्षितिजले युट्युबबाट भिडियो हटाएका थिए । फेसबुकमार्फत माफी पनि मागेका थिए । तर सम्पदा संरक्षण महाअभियानको नेतृत्वमा १०४ जनाको हस्ताक्षरसहित जिल्ला प्रहरी परिसर, टेकुमा किटानी जाहेरी दर्ता भयो । सोधपुछका लागि बोलाइएका अपूर्व भदौ १२ गते पक्राउ परेका थिए ।


प्रतिक्रिया