Breaking

सन्दीपविरुद्ध प्रहरीले थाल्यो अनुसन्धान

पीडितको स्वास्थ्य परीक्षण


काठमाडौँ — नेपाली किक्रेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेपछि अनुसन्धान अघि बढाइएको छ । नेपाल प्रहरीका अनुसार पीडितको स्वास्थ्य परीक्षण सकेर थप अनुसन्धान अघि बढाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सो घटनाको सुक्ष्म अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
सन्दीपविरुद्ध १७ वर्षीय नाबालिगले बलात्कार गरेको आरोप सहित प्रहरीमा उजुरी दिएकी हुन् ।

सन्दीपले काठमाडौँ र भक्तपुरको विभिन्न स्थानहरुमा लगेर काठमाडौँ ल्याई राती ११ बजेर ५५ मिनेटको समयमा काठमाडौँ महानगरपालिका–९ स्थित एक होटलमा जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ । गौशाला प्रहरीका एक अधिकृतका अनुसार काठमाडौँको एक कलेजमा अध्ययनरत पीडित युवती लामिछानेकी ‘फ्यान’ थिइन् । उनीहरुबीच सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको थियो । सामाजिक सञ्जालमार्फत नै लामिछानेले उनीसँग भेट्ने प्रस्ताव राखेका थिए ।

राति लठ्याएर दुई पटक बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ । प्रहरीले पिंगलास्थान र नगरकोटमा गएको होटलको क्लोज सर्किट (सीसी) टीभी फुटेज पनि संकलन गर्न थालेको छ । होटलका कर्मचारीहरुसँग पनि सोधपुछ गरिरहेको छ ।

प्रारम्भिक जाँचमा उनी ५ भदौमा ती स्थानमा पीडितसँग गएको देखिएको प्रहरीले जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले ४ पुस २०७८ मा लामिछानेले राष्ट्रिय क्रिकेट टिको कप्तान नियुक्त गरेको थियो । उनी २५ वर्षका छन् ।

लामिछाने अहिले देशमा छैनन् । उनी गत ६ भदौमा टी–२० सिरिज खेल्नका लागि केन्या गएका हुन् । केन्यामा पाँच खेलको टी–२० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए।