Breaking

मिडिया काउन्सिल विधेयक आज पारित गरिँदै


काठमाडौँ – नेपाल मिडिया काउन्सिल विधेयक आज (बुधबार) प्रतिनिधिसभाबाट पारित गरिँदैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा विधेयकमाथि छलफलपछि सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पारित गर्न प्रस्ताव गर्नेछन् । विधेयक प्रेस स्वतन्त्रताको विपक्षमा रहेको बताउँदै नेपाल पत्रकार महासंघसहित पत्रकारका विभिन्न संघसंगठनले विरोध गरिरहेका छन् ।

नेपाल प्रेस काउन्सिल ऐन, २०४८ लाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकमा प्रेस काउन्सिलको नाम परिवर्तन गरी मिडिया काउन्सिल बनाउन प्रस्ताव गरिएको छ । तर काउन्सिल स्वायत्त संस्था हुने कतै उल्लेख नगरिएकाले सरकारले प्रेस स्वतन्त्रता नियन्त्रणमुखी विधेयक ल्याएको भन्दै विरोध भएको हो ।

मन्त्रालयका सचिव नेतृत्वको समितिले काउन्सिलका पदाधिकारी सिफारिस गर्ने व्यवस्थाको पनि आलोचना भइरहेको छ । सरकारले सरोकारवालाको सुझावअनुसार विधेयक संशोधन गर्ने आश्वासन दिएको छ ।