Breaking

सिट बाँडफाँट कार्यदलमा भएको सहमति आज सार्वजनिक गरिँदै


काठमाडौँ — आगामी निर्वाचनमा सत्ता गठबन्धनमा कसले कति सिट पाउने भन्ने विषयमा भएको सहमति सिट बाँडफाँट कार्यादलले आज सार्वजनिक गर्ने भएको छ । मंगलबार साँझ बालुवाटारमा बसेको गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठकले गरेको सहमति आज सार्वजनिक गर्ने तयारी छ ।

स्रोतका अनुसार प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ८६ सिटमा चित्त बुझाएको छ । अरू बाँकी सिटबारे दलहरूबीच छलफल हुनेछ । कांग्रेसले १०० सिटमा दाबी गर्दै आएको थियो । कांग्रेसको संस्थापन इतरपक्ष ९० सिटभन्दा तल नझर्ने अडानमा थियो । तर, केहीदिन अघि पार्टी सभापति शेरबहादुर देउवाले ८६ सिटमा चित्त बुझाउन कार्यदलका सदस्यहरूलाई निर्देशन दिएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने कांग्रेससँग ५० प्रतिशत राखेर बाँकीको जिम्मेवारी आफूलाई दिन आग्रह गरेका थिए । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूबीच सहमति भइसकेको बताएका छन् । लिपिबद्ध गर्न मात्र बाँकी रहेको उनको भनाइ छ । बुधबार बस्ने कार्यदलको बैठकले प्रतिवेदन नै तयार पार्ने उनको दाबी छ ।

आफूहरूबीच सहमति भइसकेको भए पनि सिट संख्याको विवरण अहिले नै सार्वजनिक गर्न हतार हुने उनले बताएका छन् । “बुधबारको बैठकमा प्रतिवेदन तयार गर्छौं ।

अब लिपिबद्ध गर्ने चरणमा पुगेका छौँ । सिट संख्याबारे भन्न अहिले अलि हतार हुन्छ । अब लिपिबद्ध गरेर शीर्ष नेतृत्वलाई बुझाउँछौँ,” उनले भने । कार्यदलको बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ ।