काठमाडौँ — नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको हो । उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको हो ।
प्रहरी उच्च स्रोतले लामिछानेविरुद्ध उजुरी परेको पुष्टि गरेको छ, तर थप बताएको छैन । लामिछाने भने क्रिकेट खेल्ने सिलसिलामा हाल देश बाहिर छन् ।
नेपाली टोलीको नेतृत्व गर्दै लामिछाने केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखला खेल्न भदौ ६ गते राजधानी नैरोबीतर्फ प्रस्थान गरेका थिए । त्यसको अघिल्लो रात लामिछानेले आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी प्रहरी उच्च स्रोतको दाबी छ।
आफूले स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर भदौ ५ मा नगरकोट घुमाउन लागेको पनि पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छन्।
नगरकोटबाट त्यही रात फर्किएर तिलगंगा क्षेत्रको एक होटलमा लगेर आफूलाई लामिछानेले जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । लामिछाने हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् ।
उनी केन्यासँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखलापछि क्यारेबियन प्रिमियर लिग खेल्न त्यसतर्फ लागेका थिए ।
प्रतिक्रिया