Breaking

प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरु


काडमाडौँ — प्रतिनिधि सभा सदस्य कृष्णप्रसाद दाहालले नेपालको पुँजी बजारमा नयाँ स्टक एक्सेन्ज आवश्यक नभएको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद दाहालले सरकारले अहिले सञ्चालनमा रहेको स्टक एक्सेन्जलाई सक्षम र सुदृढ बनाउनुपर्नेमा नयाँ ल्याउने तयारी गरेको भन्दै नयाँ आवश्यक नभएको बताउनुभएको हो ।

उहाँले सरकारले कमिसनको खेलमा नयाँ स्टक एक्सेन्ज ल्याउँदा पुँजी बजारमा असर पर्ने भन्दै भएका स्टक एक्सेन्जलाई आधुनिकीकरण गर्न माग गर्नुभयो । सांसद दाहालले नेपाली पुँजी बजारमा अर्को स्टक एक्सेन्ज आवश्यक नभएकाले नयाँ स्टक एक्सेन्ज रोक्न ध्यानाकर्षण गर्नुभयो । उहाँले अहिले पुँजीबजारको कारोबार समेत घटेर एक अर्बमा सिमित भएको बताउनु भयो ।

त्यस्तै सांसद अञ्जना विशुङ्खेले संविधानले व्यवस्थाबिरुद्ध संवैधानिक आयोगले पूर्वाग्रह राखेर जातीय तथा लैङ्गिक आरक्षण आवश्यक नभएको रिपोर्ट तयार गरेको भन्दै त्यस्तो रिपोर्टलाई तुरुन्त खोरज गर्न माग गर्नुभयो । उहाँले जातीय तथा लैङ्गिक आरक्षण आवश्यक नभएको रिपोर्ट खोरज गर्दै समावेशी आयोगका पदाधिकारीलाई तत्काल स्पष्टिकरण सोधि कारबाही गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य खेमप्रसाद लोहनीले देश निर्वाचनको तयारीमा लागेर निर्वाचन आचार संहिता लागेको अवस्थामा समेत सरकारले राज्यको स्रोत साधन परिचालन गर्नेगरी संसदको म्याद थप गर्न लागेको भन्दै बिरोध जनाउनु भयो । उहाँले नेपाल ऐन संशोधन विधेयक फिर्ता गर्न माग गर्नुभयो । सांसद लोहनीले मन्त्रीहरुले झण्डा हल्लाउँदै चुनाव प्रचारमा जाने काम बन्द गर्न पनि माग गर्नुभयो ।

उहाँले राष्ट्रिय पुनःनिर्माण पुनारावलाकन समितिको म्याद थप्न समेत माग गर्नुभयो । त्यस्तै सांसद गजेन्द्रबहादुर महतले महाअभियोग सिफारिस समितिमा बयान दिइरहनुभएका प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको मानसिक स्वास्थ्य स्थिति परीक्षण गर्न माग गर्नुभयो । उहाँले महाअभियोग सिफारिस समितिलाई दिएको बयानमा राणाले क्रममा असान्दर्भिक व्यक्ति र विषयलाई जोडेर अभिव्यक्ति दिएकाले राणाको स्वास्थ्य स्थिति परीक्षण गर्न माग गर्नुभयो ।

महतले प्रधानन्यायाधीश राणाले बयानका क्रममा असान्दर्भिक व्यक्तिलाई लाञ्छना लगाइरहेको बताउनु भयो । त्यस्तै सांसद धनश्याम खतिवडाले वर्तमान गठबन्धन सरकार किसानका समस्यामा गम्भिर हुन नसकेको बताउनु भयो । उहाँले सरकारले कृषि अनुदानका नाममा दुध र मासु उत्पादनको लागि लाइस स्टक इनोभेसन सेन्टरबाट अनुदान दिने कार्यविधि त्रुटीपूर्ण भएको बताउनु भयो ।

उहाँले सरकारले किसानको जीवनमा खेलबाड नगर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । त्यस्तै,सांसद कृष्णभक्त पोखरेलले वर्तमान गठबन्धन सरकारले बहुमतको घमण्ड देखाएर राष्ट्रपतिले सन्देशसहित राष्ट्रिय सहमतिको लागि दिएको मौका गुमाएको भन्दै इतिहासले धिकार्ने बताउनु भयो । उहाँले चुनाव जित्नको लागि गठबन्धन नभएर साझा विचार र मुद्दाको लागि गठबन्धन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।