Breaking

देउवालाई घुँडा टेकाउन प्रचण्ड–माधवको दौडधुप, एमालेसँग नमिल्ने भए गठबन्धन भत्काउने देउवाको संकेत


काठमाडौँ — सत्ता गठबन्धनबीचको भागबण्डा मिलाउन कार्यदल गठन गरेको पनि महिनौं बित्यो । तर सिट संख्यामै कुरा नमिल्दा सहमति जुटेको छैन । बरु दलहरु एकले अर्काेलाई खुम्च्याएर साइज बढाउने रणनीतिमा देखिएका छन् । नेपाली काँग्रेसलाई खुम्च्याएर आफ्नो साइज बढाउनु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको उद्देश्य जस्तै हो । तर सकभर माओवादी–समाजवादीलाई कम दिएर एक्लै बहुमत नजिक पुग्नु काँग्रेसको स्वार्थ हो । यसैकारण १६५ निर्वाचन क्षेत्रमा काँग्रेसले एक सय सिट दाबी गरेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा त्यसबाट तलमाथि भए विद्रोह थाल्ने धम्की इतरपक्षको नेतृत्व गरेको शेखर समूहले दिएको छ । फलतः पार्टीभित्रै कचिङगल, गठबन्धनभित्रै कचिङचल । भाग राजनीतिमा दलहरु एकले अर्काेलाई खुम्च्याउन मेरुदण्डमाथि नै प्रहार गरिरहेका छन् ।

सय सिट दाबी गरेको काँग्रेसका लागि सभापति देउवाले ८५ देखि ९० सम्मलाई सहमतिको बटमलाइन बनाएका छन् । तर शेखर कोइरालासहितका नेताहरुको चेतावनीले देउवालाई माओवादी–समाजवादीसँग मञ्जुरीनामा गर्न दिएको छैन । किनकि ६० सिटको दाबी गरिरहेको माओवादीलाई काँग्रेसले ४० सम्म खुम्च्याउने कोशिस गरेको छ भने, समाजवादीलाई मात्रै १५ देखि १८ सिट दिन गठबन्धन तयार छ । तर पार्टी विभाजनको मार र अस्तित्व रक्षाका लागि भए पनि माधव नेपालले २२ देखि २५ सिट भए सहमति जनाउने अडान लिँदै आएका छन् । त्यसमध्ये पनि एमालेसँग जित्न सक्ने र समानुपातिकमा आफ्नो कम मत आउने भएकाले गठबन्धनले सहयोग गर्नुपर्ने याचना माधवले गरिरहेका छन् । नभए गठबन्धन तोड्ने धम्की दिन पनि पछि परेका छैनन् ।

गठबन्धनमै सामेल जसपालाई अन्य दल १२ देखि १५ सिट दिन तयार छन् । तर एक्लै चुनावमा जाँदा पनि १२ सिट निर्धक्कसँग जित्नसक्ने प्रक्षेपण गरेको जसपाले दुःख मनाउ मात्रै गरिरहेको छ । १२ सिट पाएर देशैभर अरुलाई सहयोग गर्नुभन्दा गठबन्धनमा नरहनु बेस हुने जसपाका नेताहरुको भनाइ छ । तर यी दलहरुमध्ये एमालेको पकड रहेका निर्वाचन क्षेत्रमा भाग लिन कुनै पनि तयार देखिएका छैनन् । एमालेले जित्नसक्ने आधार भएका क्षेत्र एकले अर्काेलाई भिडाउन खोज्दा पनि सहमति भएको छैन । सहमति नै नभए एक्लै चुनावमा जानेबारे देउवाले गृहकार्य चलाइरहेका छन् । तर ओली–प्रचण्ड मिलेर फेरि काँग्रेसलाई बलिको बोका बनाउने हुन् कि भन्ने डर देउवामा छ । यद्यपी ओली–प्रचण्ड नमिल्ने ग्यारेन्टी कसैले गरिदिए गठबन्धन भत्काउने र एक्लै चुनावमा गएर प्रतिस्पर्धा गर्न देउवा तयार रहेको निकटस्थ नेताहरु बताउँदै आएका छन् ।

यसअघिदेखि नै देउवाले ‘धेरै सिट लिने कि धेरै सिट जित्ने’ भन्दै पार्टी र गठबन्धनभित्र दबाब बढाउँदै आएका छन् । यता एक्लै चुनावमा होमिएको एमालेको प्रक्षेपण भयंकर निस्किएको छ । काठमाडौं १० र देउवाको निर्वाचन क्षेत्र डडेल्धुरासहित पकड रहेका अन्य सात स्थानमा काँग्रेसलाई हराउनै नसक्ने प्रक्षेपण गरेको एमालेले अलि बढी मेहनत गरे बाँकी सबै निर्वाचन क्षेत्र जित्ने दाबी गरेको छ । यसैबेला भागबण्डाका लागि तयार पारिएको कार्यदलले समेत सहमति नजुटाएपछि गठबन्धनमा दुई मापदण्डबारे छलफल अघि बढेको छ । पहिला शीर्ष नेताको टुंग्याएरमात्रै हार्न सक्ने ठाउँमा साटासाट गर्ने तयारीले गठबन्धनमै विद्रोहको संकेत गरेको छ ।