काठमाडौँ — लाईनमा बस्न आग्रह गरेका सुरक्षा गार्डलाई जेल पुर्याएका पर्यटनमन्त्री जीवनराम श्रेष्ठको चौतर्फी आलोचना भइरहेको छ । आफै नियम मिच्ने र आफै शक्तीको घमण्ड देखाउने भन्दै मन्त्री श्रेष्ठविरुद्ध सामाजिक सन्जाका प्रयोगकर्ता खनिए भने यहि दवावका कारण सुरक्षा गार्ड शेरजंग गुरुङ हिरासत मुक्त भएका छन । यस प्रकरणले हाम्रो देशका भिभिआईपीहरुमा कति घमण्ड लुकेको छ भन्ने प्रष्ट भएको छ । संघीय सरकारका मन्त्रीलाई नियम पालना गर्न दवाव दिँदा एक जना सुरक्षा गार्ड प्रहरीको हिरासतमा पुगेको विषयले अहिले सामाजिक सन्जाल तातेको छ । क्यानाडाको भिसाका लागि बायोमेट्रिक विवरण दिन पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाईनमा बस्न लगाएकै कारण मन्त्रीले तुजुक देखाएपछि यो विषय उछालिएको हो ।
गत शुक्रबार निजी सुरक्षा अधिकृत (पीएसओ) सहित छाया सेन्टर पुगेका मन्त्री श्रेष्ठले लाइन नबसी बायोमेट्रिक दिन खोजेपछि नियमन गर्न बसेका सुरक्षा गार्ड शेरजंग गुरुङ मन्त्रीलाई लाईन बस्न भनेका थिए । तर मन्त्री श्रेष्ठको सुरक्षामा खटिएका नेपाल प्रहरीका नायब निरीक्षक (सई) रवीन कार्कीले श्रेष्ठ मन्त्री भएको बताएका थिए । तर गुरुङले मन्त्री आउने पूर्वजानकारी नभएको र नियम सबैका लागि बराबर रहेको भन्दै अगाडि बढ्न दिएनन । लगत्तै मन्त्री श्रेष्ठ आफैं गुरुङमाथि जाइलागेको तर हात हाल्न नपाएको रिसले चुर भएका उनले आफ्ना पिएसओ मार्फत दुव्र्यवहारको जाहेरी दिएर गुरुङलाई पक्राउ गराएका थिए ।
यो त एउटा प्रतिनिधि घटनामात्र हो । यसअघि तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई कार्यकक्षमै बोलाएर हातपात र दुव्र्यवहार गरेका थिए । तर मन्त्री भएकै कारण उनी कारबाहीमा परेका थिएनन् । जसले ठुलाले कसरी कानुनलाईलाई आफ्नो स्वार्थमा प्रयोग गर्छन भन्ने प्रष्ट भएको छ । यस्ता प्रकरणमा मधेस प्रदेशका आर्थिक मामिलामन्त्री विजयकुमार यादव, तत्कालीन वनमन्त्री मातृका यादव लगायतका व्यक्ति पनि मुछिई सकेका छन । तर उनीहरु शक्तीमा भएकै कारण कारबाहीको भागीदार भने बनेका थिएनन् । त्यस्तै केहि दिन अघिमात्र ठगी आरोपीलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको भिभिआईपी कक्षबाट भगाउन सहयोग गरेका मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीलाई प्रहरीले पक्राउ गर्न सकेन । तर आफ्नो कर्तव्र्य निर्वाह गरेकै भरमा गुरुङले भने जेलको चिसो हावा खान बाध्य बनेका छन ।
म्यादी मन्त्री बन्ने र को कति वेला मन्त्री बन्छ भन्ने टुङ्गो नहुँदा अहिले भिभिआईपीको संख्या पनि ह्वात्तै बढेको छ । जसले आम सर्वसाधारणलाई को कुन पदमा छ भन्ने जान्न समेत हम्मे हम्मे पर्ने गरेको छ । अर्कातर्फ शक्ती पुग्ने वित्तिकै उनीहरुले देखाउने ध्वाँस र राज्यको सम्पत्तीमा गर्ने दोहनले पनि भिभिआईपीमाथि जनआक्रोश बढ्दै गएको छ । कहिले राष्ट्रपतीको सवारीलाई विरोध गर्ने,कहिले मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रमबाटै लखेट्ने तथा कहिले सांसदलाई गाडि बाट ओरालेर हिलोबाटोमा हिडाउने यसको पछिल्ला उदाहरण बनेका छन ।
तर आफ्नै गतिविधिका कारण यस्तो अवस्था आएको मान्न तयार नहुने उनीहरु मन्त्री तथा नेताहरु सवै खराव हुन्ने भाष्य निर्माणको खतरा रहेको भन्दै आफ्नो बचाउन गर्दै आएका छन । हुन त भिभिआईपी सुरक्षाको आफ्नै प्रोटोकल छ । यसको अर्थ भिभिआईपीकोको समयको पावन्दी र सुरक्षा प्रोटोकललाई वेवास्ता गर्न र अराजकता देखाउने छुट आमसर्वसाधारणलाई छैन । तर आमसर्वसाधारण सरह सेवाग्राहीका रुपमा गएपनि आफ्नो पदको तुजुक देखाउने तथा काममा खटिएको कसैलाई पावर देखाउने छुट भिभिआईपीहरुलाई छैन । निति निर्माण रहेकाले नै अराजकता देखाउने यो प्रवृत्तीले सर्वसाधारणलाई अझ अराजक हुन प्रेरित गरिरहेको छ ।


प्रतिक्रिया