Breaking

प्रचण्ड गृह जिल्लामा केन्द्रीत, शिलान्यास गर्न भ्याइनभ्याई


काठमाडौँ — मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन हुने भएपछि माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल गृह जिल्ला चितवन केन्द्रीत भएका छन् । त्यसमा पनि आफ्नो निर्वाचन क्षेत्रमा एकपछि अर्को आयोजनाको शिलान्यास गर्न दाहाललाई भ्याइनभ्याई जस्तै छ । चितवनको भरतपुरमा विद्युतीय तार भूमिगत गर्ने योजनाको शिलान्यास कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर स् कान्तिपुर दाहाल १० दिनको फरकमा २ पटक चितवन आएर सिलान्यास, उद्घाटन र सम्बोधनको कार्यक्रममा सरिक भए । दाहाल चितवन–३ बाट प्रतिनिधिसभामा विजयी भएका हुन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अगाडि लगाएर दाहालले शनिबार बिहान भरतपुरमा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको सिलान्यास गरे । यो आयोजना निर्माणका लागि गएको जनवरी २० मै निर्माण कम्पनीसँग सम्झौता भइसकेको थियो । आयोजनाको कार्यक्षेत्र पोखरा र भरतपुर महानगरपालिकाका मुख्य सडकहरू रहेका छन् । गएको स्थानीय तह निर्वाचनमा कांग्रेस माओवादी केन्द्रसहितको सत्तारुढ गठबन्धनले भरतपुर महानगरपालिकाका लागि निकालेको प्रतिबद्धतापत्रमा पनि यो आयोजनाको बारेमा उल्लेख छ । प्रतिबद्धतापत्रको दोस्रो पेजमा नै २८७ करोडको लागतमा भूमिगत विद्युतीकरणको कार्य अगाडि बढेको उल्लेख छ । दाहालले शनिबार सोही आयोजनाको सिलान्यास गरेका हुन् ।

एसियाली विकास बैंक एडीबी को ऋण सहयोगमा बन्ने आयोजनाको नाम ‘पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना’ रहेको छ । जसको कुल लागत ४९ करोड ६८ लाख ३१ हजार रुपैयाँ छ । आयोजनाको समय अवधि सम्झौता मितिले २ वर्षको छ । चितवनमा महानगरभित्र पर्ने पुल्चोक–गोन्द्राङ सडक, पुल्चोक–आँपटारी सडक र बाइपास सडकमा विद्युतीय तार भूमिगत गरिने योजना छ । आयोजनाको सिलान्यास गर्दै नेता दाहालले यस कार्यले विद्युत् वितरण प्रणाली सुरक्षित हुनुका साथै सहरी सौन्दर्यमा पनि टेवा पुग्ने बताए । उनले भरतपुरलाई आधुनिक सहर बनाउन यस्ता आयोजनाले भूमिका खेल्ने दोहर्‍याए । दाहालले यसअघि भदौ ८ मा आफ्नै निर्वाचन क्षेत्रअन्तर्गत पर्ने माडी नगरपालिकामा एकै दिन ३ वटा आयोजनाको सिलान्यास र एउटा पुलको उद्घाटन गरेका थिए ।

विद्युत्को तार भूमिगत आयोजनाको सिलान्यास गर्दै दाहालले चितवनको भरतपुर माडी क्षेत्रमा अन्य आयोजनाहरू पनि अगाडि बढेको जानकारी दिए । उनले नारायणी नदीमाथि बन्ने सिग्नेचर पुल निर्माणको प्रक्रिया अघि बढेको बताए । गत निर्वाचनमा दाहालले जारी गरेको चुनावी घोषणापत्रमा नारायणी नदीमा ३ वटा पुल बनाउने उल्लेख थियो । तर, हालसम्म एउटा पनि पुलको निर्माण सुरु भएको छैन । भरतपुरको सिलान्यास कार्यक्रम सकेर दाहाल मेघौली विमानस्थलको स्तरोन्नति सम्बन्धी कार्यक्रममा सरिक भए । चितवनको पुरानो मेघौली विमानस्थल निकुञ्जभित्रको टाइगर टप्स होटल सञ्चालनमा आउन छाडेपछि २०६७ सालयता बन्द जस्तै छ । २०७४ सालको हिउँदमा केही उडान सुरु नभएको होइन तर नियमित हुन सकेन ।

दाहालले विमानस्थल छिट्टै सञ्चालनमा आउने आश्वासन दिँदै यसको स्तरोन्नतिका लागि टोपोग्राफी सर्भेको काम सुरु भएको बताए । दाहालले गत स्थानीय तह निर्वाचनका बेलामा पनि सिलान्यास र उद्घाटनको कार्यक्रमलाई तिब्रता दिएका थिए । उनको निर्वाचन क्षेत्रअन्तर्गत माडी नगरपालिकाको पूरा क्षेत्र र भरतपुर महानगरपालिकाका २१ वटा वडा पर्छन् । गत स्थानीय निर्वाचनमा माडी प्रमुखमा एमाले विजयी भएको थियो भने भरतपुरमा सत्तारुढ गठबन्धनले सहज जित हासिल गरेको थियो । भरतपुर प्रमुखमा विजयी माओवादी केन्द्रकी रेनु दाहाल पुष्पकमलकै छोरी हुन् ।