देश

भारतीय स्थल सेनाध्यक्ष पाँडे नेपालमा


काठमाडौँ — भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाँडे नेपाल आइपुग्नुभएको छ । प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष पाँडे ५ दिने नेपाल भ्रमणमा आउनुभएको हो । पाँच सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै आईतवार अपरान्ह उहाँ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउनुभएका सेनाध्यक्ष पाँडेलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले विमानस्थलको भि.आई.पी कक्षमा स्वागत गर्नुभएको थियो । भ्रमणका दौरान भारतीय सेनाध्यक्ष पाँडेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गर्नुहुनेछ ।

उहाँले प्रधान सेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान हुने विभिन्न सामग्रीहरुको हस्तान्तरण कार्यक्रम गर्ने कार्यतालिका छ । साथै कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र मध्य कमाण्ड मुख्यालयको भ्रमण गर्ने कार्यक्रम रहेको जनाइएको छ । भ्रमणका क्रममा जनरल पाँडेले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुनेछ । भ्रमणको बेला परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल पाँडेलाई राष्ट्रपति भण्डारीले एक विशेष समारोहबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुहुनेछ ।