काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नुस् भन्दा एकजना सुरक्षा गार्ड पक्राउ परेका छन्। काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा बायोमेट्रिक दिन गएका श्रेष्ठलाई त्यहाँ कार्यरत गरुण सेक्युरिटी कम्पनीका सुरक्षागार्ड शेरजंग गुरुङले लाइनमा बस्न आग्रह गरेका थिए। शुक्रबार पीएसओसहित त्यहाँ पुगेका श्रेष्ठलाई सुरुक्षा गार्डले लाइनमा बस्नुस् भन्दा मन्त्री हो भन्दै अगाडि बढ्न खोजेका थिए।
त्यसपछि सुरक्षा गार्डले रोक्दै मन्त्री भए पनि लाइनमा बस्नुस् भनेका थिए। त्यसपछि पीएसओले पनि मन्त्री हो भन्दै सम्झाएपछि सुरक्षागार्ड सबैलाई नियम बराबर हुने बताएका थिए। त्यहीकारण सुरक्षागार्डले दुर्व्यवहार गरेको भन्दै मन्त्री श्रेष्ठले जाहेरी दिएका हुन्। जाहेरी परेपछि ती सुरक्षागार्डलाई पक्राउ गरिएको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए। जाहेरी परेपछि हामीले सेक्युरिटी गार्डलाई पक्राउ गरेका हौं। थप कुरा अनुसन्धान हुन्छ, दुवै पक्षलाई सोधपुछ पनि गर्छौं’ मैनालीले भने, उनीविरुद्ध म्याद थप हुन्छ।


प्रतिक्रिया