देश

लुम्बिनी प्रदेश : हालसम्म दुई मुख्यमन्त्री र २६ जना मन्त्री बन्न सफल


काठमाडौँ — प्रदेशसभाको पहिलो कार्यकाल सकिन लाग्दा लुम्बिनी प्रदेशले हालसम्म दुई मुख्यमन्त्री र २६ जना मन्त्री पाएको छ । कुल ८७ जना सांसदमध्ये २६ जना मन्त्री बन्न सफल भएका हुन् । २०७४ फागुन ३ गते मुख्यमन्त्रीमा एमालेका शंकर पोखरेलले शपथ लिएपछि दुई जना मन्त्री रहेको मन्त्रिपरिषद् बनाइएको थियो । त्यसपछि पोखरेल नेतृत्वकै मन्त्रिपरिषद विस्तार गर्दै मन्त्रीको संख्या बढ्यो भने सत्ता समीकरण परिवर्तनसमेत हुँदा हालसम्म २६ जना मन्त्री बनेका हुन् ।

पोखरेलले साढे तीन वर्ष सरकारको नेतृत्व गरे भने हालका मुख्यमन्त्री कुलप्रसाद केसीले एक वर्ष कार्यकाल बिताएका छन् । प्रदेशसभाको यो कार्यकालमा प्रदेशको नामकरण र स्थायी राजधानी तोकिनु मुख्य उपलब्धि मानिएको छ । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी तोकिए पनि अस्थायी मुकाम बुटवलबाटै सरकार सञ्चालन भइरहेको छ ।

संसदमाथि पार्टीका कारबाही, सांसदका राजीनामाले लुम्बिनी प्रदेशमा चार वर्षको अवधिमै ७ जना सांसदको पद गुमेको छ । एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि अहिले कुलप्रसाद केसीको नेतृत्वमा मन्त्रिपरिषद् छ । यो क्याबिनेटमा राज्यमन्त्रीसहित १४ जना छन् । एक जना राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छन् ।