समाचार

गायक योगेश्वर अमात्यले भने : अपूर्वलाई तुरून्त छोड्नु पर्छ


काठमाडौँ — गायक योगेश्वर अमात्यले प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज सिंहलाई रिहा गर्न लगाउनू भन्दै अभियन्ताहरूलाई आग्रह गरेका छन् । अमात्यले सामाजिक सञ्जाल फेसबुक मार्फत नेवा अभियन्ताहरूसँग छाड्न पहल गर्न आग्रह गरेका हुन् ।

उनले नेवा समुदायका संघ संगठनहरूले चाहिने मुद्दामा ध्यान नदिई स-साना कुरामा अल्झेर बसेको बताएका छन् ।
उनले फेसबुकमा लेखेक छन् ‘हाम्रो नेवाः संघ-संगठन पनि गज्जबको लाग्छ । चाहिने मुद्दामा ध्यान छैन । सानो तिनोमा अल्झेर के-के नै गरेको जस्तो । अपूर्वलाई तुरून्त छोड्न लगाऊ,’ ।

कमेडियन अपूर्वले नेवाको परम्परा शीर्षकमा गरेको स्ट्यान्डअप कमेडीको भिडिओ गत शुक्रबार युट्युबमा राखिएको थियो । सो भिडिओ कमेडी क्याफेको च्यानलबाट हालिएको थियो । तर अपूर्वले नेवा समुदायलाई लक्षित गरी भाषा, खाना तथा संस्कृतिमा प्रहार गरेको भन्दै अभियन्ताहरूले विरोध गरेका थिए ।

विरोध भएपछि २४ घण्टा नबित्दै सो भिडिओ युट्युबबाट हटाइएको थियो । यसमा अपूर्वले माफी समेत मागेका छन् । तर अभियन्ताहरूले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएपछि गत उनी पक्राउ परेका हुन् । उनलाई १० दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अनुमति समेत दिएको छ । व्यंग्य तथा कमेडी गरेकै कारण विवाद अनि आलोचनामा कलाकार तानिएको यो पहिलो घटना भने होइन । विगतलाई खोतल्दै र केलाउदै लाने हो भने यसको फेहरीस्त लामै हुन्छ ।