काठमाडौँ — काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरको जिम्मेवारी सम्हालेको १०० दिन पूरा भएको छ । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूले १०० दिनमा गरेका केही महत्त्पूर्ण कार्यहरू सार्वजनिक गरेका हुन् । कमी–कमजोरी, आलोचनाहरू पनि उल्लेख गरेका छन् । बालेनले फोहोर व्यवस्थापनमा ढिलाइ भएको स्वीकार गरेका छन् । आफ्नो १०० दिने कार्यकालको समीक्षा गर्दै उनले उक्त स्वीकार गरेका हुन् ।
“हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैले मूल्यांकन गर्नेभन्दा पनि आममानिसले कसरी हेर्नुभयो भन्ने बढी अर्थपुर्ण हुन्छ । हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्यौँ । त्यसले आममानिसमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ,” उनले लेखेका छन्, “मानिसमा सकारात्मक ऊर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ । अन्यथा, हामीले यतिका कामहरू गर्यौँ भनेर सूची बनाउँदैमा हामी सफल हुन सक्दैनौँ ।”
उनले आफ्नो कार्यकालको १०० दिन पुगिसकेको सन्दर्भमा मनमा छोएका केही सन्दर्भहरू भन्दै ६ प्रसंगहरू उल्लेख गरेका छन् । फुटपाथबाट मकैको ठेला हटाएको, ईस्पोर्ेटसका लागि एक करोड रुपैयाँ दिएको, यमबुद्धको सालिक बनाउने निर्णय, कार्यक्रममा मद्यपान र मुकुट परिवर्तन, फोहोर व्यवस्थापनमा ढिलाइ र नर्भिक अस्पताललगायत स्थानका अनधिकृत संरचना हटाउने सन्दर्भ उल्लेख गरेका छन् ।
अन्त्यमा उनले लेखेका छन्, “हामी १०० दिनको दौडमा छैनौँ, हामीसँग पाँच वर्षका लागि योजना छन् । हामी अझै केही समय गाली र आलोचना मात्रै सहन तयार छौँ । तर, हतार गरेर महानगरका समस्याहरूको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँ ।”


प्रतिक्रिया