Breaking

भारतीय स्थल सेनाध्यक्ष पांडे आज नेपाल आउँदै


काठमाडौँ — भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे आज नेपाल आउँदै छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेको नेपाली सेनाले जनाएको छ ।

पांडे पाँच दिने भ्रमणका लागि आउन लागेका हुन् । नेपाल भ्रमणका क्रममा उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, सेनाको मुख्यालय जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्ने सैनिक जनसम्र्पक तथा सूचना निर्देशालयले जनाएको छ ।

उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण कार्यक्रमलगायत कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया र मध्य कमान्ड हेडक्वार्टरको भ्रमण गर्नेछन् ।

भ्रमणकै क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पांडेलाई एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछिन् । नेपाली सेना र भारतीय सेनाबीच यस्तो परम्परा रही आएको छ ।

यहाँ रहँदा उनले प्रधानमन्त्री समेत रहेका रक्षामन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम पनि रहेको सेनाले जनाएको छ ।