काठमाडौँ — — आसन्न आमनिर्वाचनका लागि प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा बागलुङ क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएकी छन् । प्रत्यक्षतर्फ १० जना उम्मेदवार आकांक्षीको नामावली संकलन गरी सिफारिस पठाउने क्रममा देउवापत्नी पहिलो नम्बरमा परेकी हुन् । महाधिवेशन प्रतिनिधि तथा पूर्वक्षेत्रीय सभापति द्रोण कुँवर वारेस रहेर देउवाको नाम प्रस्ताव गरेका थिए । प्रस्तावपछि क्षेत्रीय समितिले देउवासहित १० जनाको नाम सिफारिस गरेको कांग्रेस क्षेत्रीय सभापति जोकलाल बुढाले बताए ।
अन्य आकांक्षीमा पार्टी सभापति जितबहादुर शेरचनसहित गणेश शेरचन, टेकराज पौडेल, देवीप्रकाश घट्टचन, द्रोण कुँवर, नरबहादुर पुन, रामप्रसाद आचार्य, शान्तराज आचार्य र सिंहबहादुर रानाको नाम सिफारिस भएको बुढाले जानकारी दिए। ‘आकांक्षीहरुको सबै नाम संकलन गरेका हौं,’ बुढाले भने, ‘आरजु राणाको पनि वारेसनामा आएपछि दर्ता भएको छ ।’ त्यस्तै समानुपातिकतर्फ १४ जनाआकांक्षी छन् ।
क्षेत्र नं १ मा पूर्वराज्यमन्त्री चम्पादेवी खड्का, गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलसहित १० जना आकांक्षी सिफारिस भएका छन् । सिफारिस हुनेमा प्रकाश शर्मा पौडेल, जगदीश चन्द्र उपाध्याय, दिपेन्द्र थापा, डिल्लीराम सुवेदी, किरणराज पौडेल, भीम श्रीष, चिरन्जीवी गौतम र लक्ष्मीदेवी जिसी छन् । समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस भएको क्षेत्रीय सहसचिव गणेशप्रसाद लम्सालले बताए ।


प्रतिक्रिया