देश

सत्तारुढ गठबन्धन चुनावसँग डराइरहेको नेम्वाङको टिप्पणी


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङले सत्तारुढ गठबन्धन चुनावसँग डराइरहेको टिप्पणी गरेका छन्। सत्तारुढ गठबन्धन आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा जान डराइरहेको उनको भनाइ थियो।

पार्टीको केन्द्रीय सम्पर्क समन्वय कमिटिले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ दलहरुकै कारण मंसिर ४ गते नै सो निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नरहेको पनि पटक–पटक दोहोर्‍याए। उपाध्यक्ष नेम्वाङले निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्ने दाबी गर्दै त्यसको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे।

उनले भने, सरकार चुनावदेखि डराइरहेको छ। चुनाव घोषणा गरेपछि सरकार साह्रै ठूलो त्रासमा छ। चुनाव हुन्छ भन्ने ढुक्क छैन। स्थानीय तहका चुनाव पनि आफ्नो पार्टीको दबाबमा मात्रै सरकारले गरेको हो। आफूलाई लोकतान्त्रिक हुँ भन्ने कांग्रेस नेतृत्वको सरकार गठबन्धन बनाएर पनि एमालेसँग चुनाव लड्न त्रसित छ। उपाध्यक्ष नेम्वाङले सरकारले लोकतान्त्रिक विधि र प्रक्रियालाई समेत लत्याएको आरोप लगाए। उनले निर्वाचनमा गएपछि जनताले आफ्नो पार्टीको पक्षमा मतदान गर्ने विश्वाससमेत व्यक्त गरे।